Logo

ठूला ऋणीमाथि राष्ट्र बैंकले थाल्यो अनुसन्धान, ५० लाखभन्दा बढी कर्जा लिनेको विवरण माग्यो

ठूला ऋणीमाथि राष्ट्र बैंकले थाल्यो अनुसन्धान, ५० लाखभन्दा बढी कर्जा लिनेको विवरण माग्यो



काठमाडौँ । नेपाल राष्ट्र बैंकले ठूला ऋणीहरू माथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिँदै ५० लाखभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रुपमा रिपोटिङ गर्न भनेको छ । पछिल्लो समय लकडाउनको समयमा उद्योग व्यवसाय संचलनमा नआउँदा पनि कर्जा विस्तार उच्च रुपमा भएपछि केकस्ता क्षेत्रमा कर्जा प्रवाह भैरहेको छ सो विषयमा छानविन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण पठाउन निर्देशन दिएको हो ।

पछिल्लो समय केकस्तो क्षेत्रमा कर्जा विस्तार भइरहेको छ त्यसको अनुसन्धान गर्न ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण पठाउन निर्देशन दिइएको नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिएका छन् । ‘लकडाउनको समयमा केकस्ता क्षेत्रमा कर्जा विस्तार भएको छ त्यसको विश्लेषण गर्नका लागि हामीले ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण माग गरेका छौं,’ उनले भने, ‘लकडाउनको समयमा राष्ट्र बैंकको नीति अनुरूप ठिक ठाउँमा कर्जा विस्तार भयो भएन हामीले अनुसन्धान गर्ने छौं ।’

राष्ट्र बैंकको निर्देशन बमोजिम यस अघिका साथै अबका दिनमा ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहको विवरण दैनिक रुपमा बुझाउनु पर्ने छ । पछिल्लो समय राष्ट्र बैंकको नीति विपरित अन्य क्षेत्रमा बढि कर्जा विस्तार भैरहेको गुनासो बढेपछि राष्ट्र बैंकले सो सम्बन्धमा छानविन गर्न ५० लाख रुपैयाँभन्दा बढि कर्जा लिने ग्राहकको विवरण मगाएको सम्बद्ध सरोकारवालाहरू बताउँछन् । ‘अहिले पहुँचवालाले नक्कली कागजात तयार गरेर एउटा प्रयोजनका लागि कर्जा लिने तर त्यसको प्रयोग भने अन्य क्षेत्रमा गर्दै आएका छन्,’ सम्बद्ध सरोकारवालाहरू बताउँछन् । 

केहीसमय यता ठूला ऋणिहरुले उद्योग व्यवसायको नाममा कर्जा लिने तर त्यस्ता कर्जा सेयर र घरजग्गामा खरिदमा प्रयोग भैरहेको गुनासो बढेको थियो । आयात निर्यात व्यवसाय ठप्प जस्तै रहेको र उद्योग व्यवसाय समेत नचलेको अवस्थामा त्यस्ता क्षेत्रमै बढी कर्जा प्रवाह भएको पाइएपछि राष्ट्र बैंकले छानविन प्रक्रिया अघि बढाएको हो । 

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणका लागि छलफल अघि बढाएको छ भने सोही अनुरूप सुझावहरू समेत माग गरेको छ । आगामी आवका लागि कस्तो मौद्रिक नीति ल्याउने भन्ने विषयमा छलफल भैरहँदा ठूला ऋणिहरुको विवरण मागिँदा राष्ट्र बैंकले आगामी दिनमा कर्जा प्रवाहमा थप कडाइ गर्न सक्ने संकेत गरेको समेत सम्बद्ध सरोकारवालाहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
MBL