Logo

अर्थमन्त्रीले साना किसानलाई भने, ‘तुलनात्मक लाभको वस्तु उत्पादनमा लाग्नुहोस’

अर्थमन्त्रीले साना किसानलाई भने, ‘तुलनात्मक लाभको वस्तु उत्पादनमा लाग्नुहोस’


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले तुलनात्मक लाभका वस्तु उत्पादनमा  लाग्न साना किसानहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपालबाट अलैची, अदुवा, कफी लगायत कृषि उपज उल्लेख्य मात्रामा निर्यात भइरहेकोको बताउँदै उनले यस्ता वस्तुको उत्पादनमा लाग्न आग्रह गरेका हुन् ।

आइतवारदेखि काठमाडौंमा शुरु भएको ‘साना किसान सम्मेलन २०७१’को उद्घाटन गर्दै उनले किसानलाई निर्यातयोग्य वस्तुको उत्पादनामा जोड दिन आग्रह गरेका हुन् । ‘पछिल्लो समय सरकारले साना किसानलाई लक्षित गरी विभिन्न सहुलियतहरु ल्याएको छ,’ उनले भने, ‘सरकारले दिएको सुविधालाई किसानहरुले मेहनतका साथ कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।’ यस अघि सरकारले साना किसान विकास बैंकबाट मार्फत साना किसानलाई सहुलियत कर्जा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा जुनसुकै वाणिज्य बैंक मार्फत लिन सकिने उनले जानकारी दिए ।

कृषिलाई आधुनिकिकरण गर्न सरकारले नयाँ प्रविधि भित्र्याउन तथा मेशिन औजार किन्नका लागि किसानलाई ५० प्रतिशत सम्म नगद अनुदान दिइने समेत उनले जानकारी दिए । साथै, साना किसान सहकारी मार्फत गरिने कामलाई सरकारले अझ बढी प्राथमिकता दिने प्रतिवद्धता समेत गरे ।

आर्थिक समुन्नतिका लागि ग्रामीण क्षेत्रमा सरकारी संस्थाहरु स्थापना गरिनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले बताए । ‘साना किसानले गाउँ–गाउँमा राम्रो काम गरेका छन्,’ उनले भने, ‘तर, त्यसलाई उचित व्यवस्थापन गर्न सकिएको  छैन ।’

Bizkhabar - sana kisan..

कार्यक्रममा सम्मेलन मुल आयोजक कमिटिका अध्यक्ष कृष्ण उपाध्यायले सरकारले नीति निर्माण र प्रणाली विकासमा सहयोग गर्नुपर्ने बताए । ‘सरकारले साना किसानलाई अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराउँदै आएपनि झण्झटिलो प्रक्रियाका कारण किसानहरु सहज रुपमा उक्त कर्जा पाउन सकेका छैनन्,’ उनले भने, ‘आगामी दिनमा सरकारले सामान्य खालका किसानले पनि सहज रुपमा सहुलियत कर्जा लिन पाउने व्यवस्था गर्नुपर्छ ।’

कार्यक्रमका नेपाल राष्ट्र बैंकका गर्भर्नर डा. युवराज खतिवडाले नेपालका ६० प्रतिशतभन्दा बढी कृषक निरक्षर रहेको बताउँदै आगामी दिनमा त्यस्ता किसानलाई पनि साक्षर बनाउनु पर्ने बताए । ‘सरकारले साना किसानलाई विभिन्न शिर्षकमा अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘निरक्षर भएकै कारण त्यस्ता किसानहरुले सरकारले उपलब्ध गराउँदै आएको अनुदान तथा सहुलियत कर्जा उपयोग गर्न सकेका छैनन् ।’
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सामाजिक र आर्थिक विकास ग्रामीण क्षेत्रबाटै हुने बताउँदै यसमा साना किसानको भुमिका उल्लेख्य रहेको बताए । ‘नेपालमा भारतबाट सडेगलेमा कृषि उपज भित्रिरहेका छन्,’ उनले भने, ‘तर, नेपालमा उत्पादन भएका राम्रा कृषि उपजहरु विभिन्न खालका ल्याव परीक्षण गर्नुपर्ने झण्झटिला प्रक्रियाका कारण स्वदेशमै कुहाएर फ्याल्नुपर्ने  वाध्यता छ ।’

कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले पछिल्लो समय साना किसानहरु व्यवसायीकरणमा लागेको बताए । ‘आजभन्दमा २० वर्ष अघिसम्म साना किसानले कुनै उद्योग कारखाना खोल्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘तर, अहिले साना किसानहरुले चिया कारखाना खोलेका छन् यो साना किसान विकास बैंकको देन हो ।’

कृषि मन्त्रालयका निमित्त सचिव उदयचन्द्र ठाकुरले कृषिको आधुनिकिकरण र व्यवसायीकरण गर्न सहकारीमा आधारित कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताए । हाल सरकारले नयाँ प्रविधि भित्र्याउन र मेशिन खरिद गर्न २५ देखि ७५ प्रतिशतसम्म अनुदान दिँदै आएको र उक्त अनुदान रकमलाई उपयोग गरि साना किसानहरु व्यवसायीक खेती तर्फ उन्मुख हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा साना किसान महिला सहकारी संघ महारानी झोडा झापाकी अध्यक्ष मिना ढकालले महिलाहरुले संचालन गरेको सहकारीले कृषिलाई व्यवसायीकरण गर्न ठूलो सहयोग गरेको बताइन् । त्यस्तै, कार्यक्रममा नेपाल स्थित इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन (डिजिएम) जोनाथन लिबेलले नेपालको कृषिलाई व्यवसायीकरण गर्न आपूmहरुले सक्दो सहयोग गर्ने बताए ।

सम्मेलन मुल आयोजक कमिटिका उपाध्यक्ष तथा साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै कृषि खेतीमा लाग्न आग्रह गरे । ‘नेपाली युवाहरु १०–१५ हजार रुपैयाँमा लाखौं रकम लगानी गरेर वैदेशिक रोजगारीमा गइरहेका छन्,’ उहाँले बताउँनुभयो, ‘यदि स्वदेमै सोही अनुसारको परिश्रम खर्च गर्नेहो भने कृषिमा मासिक लाखौं रुपैयाँ आर्जन गर्न सकिनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL