Logo

वैदेशिक लगानी ५० प्रतिशतले घट्यो, चालु बर्षको २ महिनामा साढे ६ अर्ब मात्रै भित्रियो

वैदेशिक लगानी ५० प्रतिशतले घट्यो, चालु बर्षको २ महिनामा साढे ६ अर्ब मात्रै भित्रियो



काठमाडौं । चालु आर्थिक बर्षको २ महिनामा साढे ६ अर्ब रुपैयाँको वैदेशिक लगानी नेपालमा भित्रिएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउन र भदौमा विभिन्न क्षेत्रमा ६ अर्ब ५० करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको हो ।

laxmi

विभागका अनुसार पछिल्लो २ महिनामा विभिन्न ३७ ओटा उद्योगहरुमार्फत उक्त लगानी भित्रिएको हो । तर आर्थिक बर्ष २०७६÷७७ को उक्त अवधिमा भने यस्तो लगानी झण्डै १२ अर्ब भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक बर्षको सुरुवातमै विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण यो बर्षको २ महिनामा भने वैदेशिक लगानीमा गिरावट आएको देखिएको छ ।

तर, कोरोना भाईरसको महामारी र यसले निम्त्याएको निषेधाज्ञामा पनि वैदेशिक लगानी आउन भने रोकिएन । अझ यो समयमा सबैभन्दा बढी प्रभावित बनेको पर्यटन र सेवा क्षेत्रमा भने लगानी बढेको देखिन्छ ।

गत बर्षको साउन र भदौमा ११ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी भित्रिएकोमा यो बर्ष भने लगानी प्रतिवद्धता घट्दै ६ अर्ब ५० करोडमा सीमित भएको छ ।

गत आर्थिक बर्षको यो अवधिमा विभिन्न क्षेत्रका ७३ उद्योगमार्फत उक्त लगानी भित्रिएको थियो । तर, यो बर्ष भने सेवा र पर्यटन गरी जम्मा २ क्षेत्रका उद्योगमा मात्रै लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार यो बर्षको पहिलो २ महिनामा पर्यटन क्षेत्रमा मात्रै ४ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी आएको छ । जसमार्फत नेपालमा ७ सय १८ जनालाई रोजगारी सिर्जना हुनेछ । यस्तै सेवा क्षेत्रका ११ उद्योगमार्फत मात्रै पछिल्लो २ महिनामा १ अर्ब ६५ करोड रुपैयाँको वैदेशिक लगानी आएको छ ।

उक्त लगानी पछिल्लो ३ महिनामा चीन, भारत र बेलायतबाट आएको विभागले जनाएको छ । विभागका अनुसार चीनबाट मात्रै पर्यटन क्षेत्रका ३० र सेवाक्षेत्रका १० ओटा उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL