Logo

महामारीले बढाएको प्रविधिको प्रयोग र निम्त्याएको समस्या

महामारीले बढाएको प्रविधिको प्रयोग र निम्त्याएको समस्या



काठमाडौं । सात महिनाअघि चीनको हुवेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोराना भाईरस (कोभिड–१९) हाल विश्व महामारीको गम्भीर संकटको रुपमा खडा भएको छ अर्थात विश्व नै यसबाट आक्रान्त भएको छ । महामारीका कारण मानिसहरुको घनिष्टतामा आएको कमी र भेटघाट पातलिँदा प्रविधिको प्रयोग भने बढेको छ ।

laxmi

एकातिर यसलाई नियन्त्रण गर्न विभिन्न राष्ट्रहरुले लकडाउन (बन्दाबन्दी)को उपाय अवलम्बन गरिरहेका छन् भने कतिपय राष्ट्रहरुले केही निश्चित नियम बनाएर नियन्त्रणको प्रयास गरिरहेका छन् । राज्यहरुले कोरोना भाईरसको महामारी नियन्त्रण गर्न गरेको प्रयासलाई सहयोग पुर्याउन जनताहरु पनि लकडाउनको पुर्ण पालना गरेर घरमै बस्न बाध्य भए ।

संक्रमण्को बढ्दो कहरबीच लकडाउनका कारण आफन्तहरुसँगको भेटघाट, घुमघामलगायतका मनोरञ्जनका क्रियाकलापहरुमा समेत बाधा सिर्जना भयो । तर, प्रविधिको सहज उपलब्धता र बढ्दो उपयोगले धेरैजसो मानिसको जीवन यस्तो अवस्थामा पनि सहज भयो । स्मार्टफोन, ट्याब्लेट, ल्यापटप तथा कम्प्युटरका माध्यमबाट मानिसहरुले एक अर्कासँग भर्चुअल संवाद, इन्टरनेटबाटै पारिवारिक भेटघाट र मनोरञ्जनको आन्नद उठाए ।

नेपालकै कुरा गर्ने हो भने पनि लकडाउनको अवधिमा ईन्टरनेट सेवाप्रदायक (आईएसपी)मार्फत हुने ब्याण्डविथ खपत ३५ प्रतिशतले बढेको छ । नेपाल नेटवर्क अपरेटर ग्रुपका अध्यक्ष समितजंग थिङका अनुसार नेपालसँगै विश्वभर लोकल नेटवर्कमा ब्याण्डविथ खपत २५ प्रतिशतले बढेको छ । यस अवधिमा ईन्टरनेट प्रयोगकर्ताहरुले लकडाउनअघि हुने प्राय कामहरु घरबाटै गर्न थालेको थिङ बताउँछन् ।

लकडाउनको समयमा नेपालीहरुले अनलाईनमार्फत भिडियो च्याटदेखि फोनमार्फत पनि धेरै आफन्तहरुसँग भेट्ने ईच्छा पुरा गरेको देखिन्छ । यही अवधिमा ईन्टरनेट सामग्रीको पनि त्यत्तिकै मात्रामा प्रयोग बढेको देखियो । विश्वभरि नै इन्टरनेट खपत बढ्यो, ब्यान्डविथ खपत बढेपछि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्सलगायतले भिडियोको क्वालिटी समेट घटाउनुपरेको छ ।

इन्टरनेट प्रयोगको तथ्यांक विश्लेषण गर्ने कम्पनी सिमिलर वेब, एप्टोपियाका अनुसार महामारीको समयमा फेसबुकका प्रयोगकर्ता मात्रै २७ प्रतिशतले बढ्दा नेटफ्लिक्सका प्रयोगकर्ता १६ प्रतिशतले बढेका थिए । यस्तै भिडियो एप युट्युवको वेबसाईटमा पनि प्रयोगकर्ता १५ प्रतिशतले बढेका छन् ।

उक्त कम्पनीका अनुसार विश्वमा लकडाउन र घरबाहिरै निस्कन नसकिने अवस्था सिर्जना भएपछि कतिपय अफिसका कामहरु पनि घरबाटै हुने अवस्था आयो । जसमार्फत महामारीकै समयमा जुम, गुगल क्लासरुम, माईक्रोसफ्ट टिम, गुगलको ह्याङआउट मिटलगायत एपहरुक्षेत्रहरु पनि फस्टाए । अर्थात यस समयमा यीनीहरुको पनि भरपुर उपयोग भएको पाईन्छ । लकडाउनको अवधिमा अनलाइन कक्षा, भिडियो कन्फ्रेन्स, टिकटक, नेटफ्लिक्स, युट्युब, अनलाइन गेम, फेसबुक, इन्स्टाग्राम, ट्विटर, गुगललगायतका प्रयोगकर्ता बढेपछि इन्टरनेट ट्राफिक ह्वात्तै बढेको हो ।

नेपालमा खपत भइरहेको कुल इन्टरनेट ब्यान्डविथमा टेलिकम कम्पनीहरूको मोबाइल÷वायरलेस सेवाको ११ प्रतिशत र फिक्स्ड सेवाको ८९ प्रतिशत हिस्सा छ । तर, ‘नम्बर अफ युजर्स’का आधारमा फिक्स्ड सेवाका भन्दा मोबाइलबाट इन्टरनेट चलाउने धेरै छ ।

प्रविधिकै उपयोग गरि कोरोना संक्रमण नियन्त्रणका लागि ट्रयाकिङ, रोग नियन्त्रणका विधिहरुलगायतका क्रियाकलापहरुमासमेत ठूलो सहयोग पुगिरहेको छ । यस्तो बेलामा भेटघाटमाथि पुर्ण प्रतिबन्ध लाग्दा अनलाइर्न भिडियो कन्फ्रेन्ससम्बन्धी क्रियाकलापहरु बढे । यसैगरी नेपाल सरकारका महत्वपुर्ण छलफल, सेमिनार, बैठकहरुलगायत समेत भिडियो कन्फ्रेन्समार्फत नै हुन थाले । युजर नेम र पासवर्ड सार्वजनिक गर्दै बैठक चलाउँदा अनावश्यक मानिसहरु बैठकमा प्रवेश गरी अनिच्छित क्रियाकलापसमेत बढे । यस्तै उदाहरण हो पर्यटनमन्त्री योगेश कुमार भट्राई उपस्थित एक अनलाईन बैठकमा एक अपरिचित व्यक्ति प्रवेश गरी पोर्न भिडियो चलाएका थिए । पछि हत्तपत्त उक्त छलफल नै बन्द गरी पुनः सुरु गर्नुपरेको थियो ।

यस्तै घटनाहरु अन्य भिडियो कन्फ्रेन्सहरुमा पनि भएको देखियो । पछिल्लो समयमा सामाजिक संजालमा हुने साईबर अपराध, लैंगिक हिंसा, बाल हिंसालगायत घटनाहरु पनि बढेका छन् । लकडाउनकै अवधिमा अभिभावकसँगै बालबालिकाहरुसमेत ईन्टरनेटमा उपलब्ध हुने सामग्रीमा झुम्मिदा बालबालिका विपरित सामग्रीहरुसमेतमा ठुलो पहुँच पुगेको चाईल्डसेफ ईन्टरनेटले जनाएको छ । जसका कारण बालबालिकामा मनोवैज्ञानिक असर पर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL