Logo

होटल व्यवसायमा पकड जमाउँदै एमएस ग्रूप, डेढ अर्ब लगानीमा मेरिएटको तेस्रो होटल ‘मोक्सी’ आउँदै

होटल व्यवसायमा पकड जमाउँदै एमएस ग्रूप, डेढ अर्ब लगानीमा मेरिएटको तेस्रो होटल ‘मोक्सी’ आउँदै



काठमाडौं । नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ संचालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरिएटको तीन तारे फेयरफिल्ड हूँदै पाँच तारे मेरिएट होटल संचालनमा ल्याएको एमएस ग्रूपले म्यारियटकै साढे ३ तारे स्तरको ‘मोक्सी’ संचालनमा ल्याउन लागेको हो ।

laxmi

अबको साढे २ बर्षभित्र संचालनमा ल्याउने गरी साढे ३ तारे स्तरको मेरिएटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढाइएको एमएस ग्रूपमा उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए । ‘काठमाडौंको कमलादीमा उक्त होटल निर्माणका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘निर्माण प्रक्रिया अघि बढिसकेकाले अबको साढे २ बर्ष भित्रमा संचालनमा ल्याउने छौं ।’
उनका अनुसार उक्त होटल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया समेत अघि बढाइसकिएको छ । देशका मुख्य शहरहरुमा मेरिएट होटलको चेन विस्तारको योजना बनाएको एमएस ग्रूपले काठमाडौंमै थप अर्को होटल खोल्न लागेको हो ।

कुल १ अर्ब ४० करोड रुपैयाँ लगानीमा बन्न लागेको सो होटल १० तलाको हुनेछ । जसमा न्यूनतम १०१ देखि ११५ कोठासम्म रहने अग्रवालले जानकारी दिए । होटलमा १० वटा स्वीट रुम र बाँकी डिलक्स रुम रहनेछन् ।

नेपाल पर्यटकको लागि सबैभन्दा उपयुक्त गन्तव्य रहेको र नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि आफ्नो कम्पनीले होटल विस्तारलाई उच्च प्राथमिकता दिएको समेत अग्रगालले बताए । ‘हामीले नेपाल घुम्न आउने सबै पर्यटकलाई उपयुक्त हुने खालका होटल निर्माण गरी सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘सोही अनुरुप हामीले देशमा मुख्य मुख्य स्थानमा होटल खोल्ने प्रक्रियालाई उच्च प्राथमिकता साथ अघि बढाएका छौं ।’

देशका मुख्य शहरहरुमा होटल खोल्नका लागि मेरिएट ब्राण्डसँग सम्झौता गरेको एमएस ग्रूपले तेस्रो होटलको रुपमा मोक्सी ल्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL