काठमाडौं । इरानमा युक्रेनको बोइङ–७३७ विमान दुर्घटनामा परी १६७ जना यात्रुको मृत्यु भएको छ । साथै अन्य ९ जना चालकदलका सदस्यहरुको समेत मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन ।
बुधबार बिहान दुर्घटनाग्रस्त भएको उक्त जहाज तेहरानको इमाम खामेनी विमानस्थलबाट उड्ने वित्तिकै दुर्घटना भएको थियो । सो जहाजमा कम्तीमा १६७ जना यात्रु र अरु ९ जना चालक दलका सदस्य रहेका थिए ।
इस्लामिक रिपब्लीक न्युज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उद्धृत गर्दै उनीहरु सबैको मृत्यु भएको पुष्टी गरेको समाचार सम्प्रेषण गरेको छ । प्रारम्भिक विवरणअनुसार उक्त विमान युक्रेनको राजधानी किभतर्फको यात्रामा रहेको थियो । विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ ।
इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनसँग भने, ‘विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मी त्यसतर्फ पठाएका छौं’, ‘हामीले केही यात्रुहरूलाई बचाउने प्रयास गरेका थियौं ।’
इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला भएको सो दुर्घटना दुई देशको तनावसँग सम्वन्ध रहेको वा नरहेको बारेमा भने स्पष्ट नभएको पनि समाचारमा जनाइएको छ/रासस