काठमाडौं । नीजि क्षेत्रको लगानी रहेको बुद्ध एयरले आईतबार बेलुकी जनकपूरमा रात्री उडान परीक्षण गर्ने भएको छ । आईतबार गर्न लागेको सो परीक्षण उडान एटिआर ७२ जहाज मार्फत हुने कम्पनीले जानकारी दिएको छ ।
आज बेलुका गर्न लागेको काठमाडौं जनकपुर रात्री उडान परीक्षण सफल भएमा अबको एक महिना भित्रै नियमित उडान सुरु गर्ने बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेतले जानकारी दिएका छन ।
परीक्षण उडान गरे पनि अन्य केही कागजपत्रहरु मिलाउन समय लाग्ने भएकाले एक महिना लाग्न सक्ने कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरले हाल सिमरा, नेपालगञ्ज, भरहवा, धनगढी, विराटनगर, भद्रपुर लगायतका स्थानहरुमा रात्री उडान गर्दै आईरहेको छ ।
कम्पनीले आगामी दिनमा थप विमानस्थलहरु तुम्लिङतार, सुर्खेत, भरतपुरमा पनि रात्रीकालिन उडान विस्तार गर्दै जाने योजना बनाएको बस्नेतले जानकारी दिएको छ ।