Logo

एडीबीले गर्यो तनहुँ जलविद्युत् आयोजनाको अनुगमन, तोकिएकै समयमा सक्न निर्देशन

एडीबीले गर्यो तनहुँ जलविद्युत् आयोजनाको अनुगमन, तोकिएकै समयमा सक्न निर्देशन



काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेका छन् ।

laxmi

एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायतका संरचनहरूको निर्माण कार्यको अनुगमन गरेका हुन् ।

टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२ (विद्युत गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरू) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरूसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल गरेका थिए ।

निर्माणमा देखिएका समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडीबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए । ‘मुख्य रुपमा प्याकेज–१को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिइ उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ’, उनले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिका अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL