काठमाडौं । विश्वकै दोस्रो ठूलो रोजगारदाता कम्पनी अमेजनले विश्व श्रम बजारमा अर्को ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। कम्पनीले आगामी वर्षहरूमा आफ्ना गोदाम र वितरण प्रणालीमा आधाभन्दा बढी काम रोबोटमार्फत गराउने रणनीति अघि सारेको छ।
गत दुई दशकमा श्रम बजारमा सबैभन्दा ठूलो प्रभाव पार्ने कम्पनी मानिने अमेजनले अहिले करिब १२ लाख जनालाई रोजगारी दिएको छ। तर कम्पनीका आन्तरिक रणनीतिक दस्तावेज र उच्च अधिकारीहरूसँग भएका अन्तर्वार्ताबाट अमेजनले सन् २०२७ सम्ममा करिब १ लाख ६० हजार नयाँ कामदार भर्ना गर्नुपर्ने आवश्यकता रोबोटमार्फत टार्ने योजना बनाएको छ। यसरी कम्पनीले प्रत्येक सामान प्याक र ढुवानी गर्दा करिब ३० सेन्टसम्म खर्च बचत गर्ने अपेक्षा गरेको छ।
अमेजनले बोर्डमा प्रस्तुत गरेको योजनाअनुसार आगामी दशकमा बिक्री दोब्बर हुने भए पनि अमेरिकी कर्मचारी संख्यामा वृद्धि नगर्ने लक्ष्य लिएको छ। यसरी कम्पनीले करिब ६ लाखभन्दा बढी कामदार नियुक्त गर्न नपर्ने अनुमान गरिएको छ। कम्पनीको रोबोटिक्स टोलीले दीर्घकालीन लक्ष्यका रूपमा अमेजनका ७५ प्रतिशत सञ्चालन स्वचालित (अटोमेटेड) बनाउने उद्देश्य लिएको छ।
अमेजनले यो कदमका कारण रोजगारी गुम्न सक्ने क्षेत्रहरूमा नकारात्मक प्रभाव कम गर्न स्थानीय समुदायसँगको सम्बन्ध सुधार्ने तयारी पनि गरेको छ। आन्तरिक योजनामा ‘रोबोट’ वा ‘कृत्रिम बुद्धिमत्ता’ जस्ता शब्द प्रयोग नगरी ‘अग्नि प्रविधि’ वा ‘कोबोट’ (मानवसँग सहकार्य गर्ने रोबोट) जस्ता शब्द प्रयोग गर्न निर्देशन दिइएको छ।
कम्पनीकी प्रवक्ता केली नान्टेलले यी रणनीति दस्तावेजहरूले अमेजनको सम्पूर्ण नीति प्रतिनिधित्व नगर्ने बनाईन्। उनले कम्पनीले यस वर्षको चाडपर्वका लागि २ लाख ५० हजार जनालाई अस्थायी रूपमा भर्ना गर्ने बताइन्, यद्यपि स्थायी पदहरूको संख्या खुलाईएको छैन ।
अर्थशास्त्रका नोबेल विजेता तथा एमआईटीका प्राध्यापक ड्यारेन असीमोग्लूका अनुसार अमेजनको स्वचालन अभियान सफल भएमा यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो ‘रोजगारी घटाउने’ कम्पनी बन्नेछ। उनले भने, ‘अमेजनले जब यो प्रक्रिया नाफामुखी रूपमा काम गर्न सक्छ भन्ने प्रमाणित गर्छ, अन्य कम्पनीहरूले पनि यही बाटो पछ्याउनेछन्।’
अमेजनको स्वचालन यात्रा सन् २०१२ मा सुरु भएको हो, जब यसले ७७५ मिलियन डलरमा किभा नामक रोबोटिक्स कम्पनी किन्यो। त्यसपछि कम्पनीका गोदामहरूमा कामदारले लामो दूरी हिंड्नुपर्ने आवश्यकता हट्यो। अहिले अमेजनले विश्वभर एक मिलियनभन्दा बढी रोबोट सञ्चालनमा ल्याइसकेको छ।
लुइजियानाको श्रीभपोर्टमा अमेजनले गत वर्ष अत्याधुनिक गोदाम सञ्चालनमा ल्याएको छ, जहाँ १,००० रोबोटहरूले काम गर्छन्। यसका कारण त्यहाँ मानवीय कामदारको आवश्यकता २५ प्रतिशतले घटेको छ। आगामी वर्षमा यो अनुपात ५० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले यही मोडेललाई २०२७ सम्म ४० भन्दा बढी केन्द्रहरूमा विस्तार गर्ने योजना बनाएको छ।
जर्जियाको स्टोन माउन्टेनस्थित गोदाममा पनि यस्तो प्रणाली लागू हुँदैछ, जसपछि त्यहाँ ४,००० मध्ये १,२०० कामदार घट्ने अनुमान गरिएको छ। कम्पनीले केही नयाँ प्राविधिक रोजगारी सिर्जना हुने बताएको भए पनि स्थानीय तहमा ‘न्यून रोजगारी वृद्धि’ हुने प्रष्ट देखिएको छ।
अमेजनका उच्च अधिकारी उदित मदानका अनुसार कम्पनीले अटोमेशनबाट बचत भएको रकम प्रयोग गरी नयाँ अवसर सिर्जना गर्ने योजना बनाएको छ। उनका अनुसार कम्पनीले “मेकेट्रोनिक्स अप्रेन्टिससिप प्रोग्राम” मार्फत करिब ५,००० जनालाई रोबोटिक सीप सिकाइसकेको छ।
तर आलोचकहरूका अनुसार स्वचालनले सबैभन्दा बढी असर रंगीन समुदायका कामदारमा पर्न सक्छ, किनकि अमेजनका गोदाममा काम गर्ने कामदारमध्ये करिब तीन गुणा बढी अश्वेत अमेरिकीहरू छन्।
अमेजनका अनुसार भविष्यमा रोबोट मर्मत र सञ्चालनमा संलग्न प्राविधिक नै नयाँ पुस्ताका रोजगारी बन्नेछन् तर ती रोजगारी उच्च सीप र प्राविधिक ज्ञानमा निर्भर हुनेछन्।