Logo

चालु आवको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्बको वैदेशिक व्यापार, निर्यातमा ८९ प्रतिशतको छलाङ

चालु आवको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्बको वैदेशिक व्यापार, निर्यातमा ८९ प्रतिशतको छलाङ



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तरराष्ट्रिय व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्ष २६.०४ प्रतिशतले बढी वैदेशिक व्यापार भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को असोजसम्म नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ वैदेशिक व्यापार गरेको थियो ।

असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको तुलनामा १९.७९ प्रतिशतले बढी हो। त्यसैगरी निर्यात व्यापार ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो पनि गत वर्षको सोही अवधिको ३८ अर्ब ३७ करोड रुपैयाँको तुलनामा ८९.६४ प्रतिशतले बढी हो। आयात–निर्यात दुबै बढे पनि निर्यातमा आएको तीव्र वृद्धि कारण व्यापार घाटाको वृद्धिदर केही घटेको छ। असोजसम्म व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशत बढी हो।

विभागको तथ्यांकलाई आधार मान्दा अन्तरराष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा सीमित भएको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशत पुगेको छ। असोज महिनामा मात्र १ खर्ब ६३ अर्बको आयात र २५ अर्बको निर्यात भएको छ। नेपालमा सामान्यतया कुल निर्यातले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था रहँदै आएको छ। तर, यस वर्षको पहिलो तीन महिनामा भने निर्यातले पेट्रोलियम आयातलाई ओभरटेक गरेको छ। असोजसम्म पेट्रोलियम पदार्थ आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ भने निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्