काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ ।
होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।
“जेनजीको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटेलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्याङ्क्वेट, चैत्यसहित होटेलको समष्टिगत संरचनामा ठुलो क्षति पुगेको छ । त्यसयता होटेल पूर्ण रूपमा बन्द छ । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने हाम्रो अनुमान छ”, विज्ञप्तिमा भनिएको छ ।
होटेलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने गरी सञ्चालन हुने प्रतिबद्धता पनि जनाएको छ । होटेल बन्द भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग हुने आश्वासन दिएका छन् ।







