काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले अर्वाैँ बराबरका पूर्वाधार ध्वस्त भए । आन्दोलनकै क्रममा भड्किएको हिंसाका कारण सार्वजनिक भवनहरु, निजी डिपार्टमेन्टल स्टोर, होटलहरु तथा भवन एकैपटक आक्रमणमा परे । अझ एक बर्षअघि मात्रै संचालनमा आएको पाँचतारे होटल हिल्टन नै आगजनीमा परि पूर्णरुपमा क्षतिगस्त भएपछि यसैलाई लिएर पर्यटन क्षेत्र अब ध्वस्त भएको र पर्यटन आवागमन नै ठप्प भएको हल्ला चल्यो ।
जेनजी आन्दोलनमै परी होटल हिल्टन मात्रै नभई हायात होटललगायत अन्य केहि साना होटल तथा केहि पर्यटन व्यवसायीका भवनहरु पनि प्रभावित बने । यसैलाई लिएर केहि समूहले नेपालमा पर्यटन क्षेत्र नै भयावह अवस्थामा पुगेको र अब यसलाई रिभाइभ गर्नै कठिन हुने हल्ला चलाए ।
आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटले होटल तथा पर्यटकीय पूर्वाधारमा करिब २५ अर्बको क्षति पुर्याएको भए पनि व्यवसायीहरूले छिट्टै पुनरुत्थान हुने आशा भने व्यक्त गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार आन्दोलनअघि दैनिक ३,२०० पर्यटक नेपाल भित्रिने गरेकोमा हाल यो संख्या घटेर १,३०० मा झरे पनि पदयात्रा, साहसिक तथा धार्मिक पर्यटनमा ठूलो असर नपरेको देखिन्छ ।
वास्तवमा नेपालको पर्यटन क्षेत्र जेनजी आन्दोलनपछि पूर्ण रुपमा ठप्प र चलायमान नै हुन नसक्ने अवस्थामा भने नपुगेको पर्यटन व्यवसायीहरु बताउँछन् । पर्यटन व्यवसायीहरूले आन्दोलनको हल्ला जत्तिकै ठूलो असर नपरेको दाबी गरेका छन् । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले आन्दोलनको प्रभावलाई न्यूनतम राख्न सकारात्मक सन्देश प्रचार गर्नुपर्ने बताए ।
जेनजी आन्दोलनले निम्त्याएको वितण्डाले केहि असर पर्नु त स्वभाविकै हो तर बाहिर हल्ला चलेजस्तो पर्यटन क्षेत्र ठप्पै भएको र चलायमान नै हुन नसक्ने अवस्था भने नभएको उनले बताए । ‘यत्रा होटलहरु जलेका छन्, एयरपोर्टमै आक्रमण हुन थालेको थियो, कारगारबाट हजारौं कैदीहरु भागेका छन्, यसैका कारण सुरक्षा चुनौती थपिएको छ,’ उनले भने, ‘यहि कुरालाई मनन् गर्दै विदेशी पर्यटकहरु केहि घटेका भने पक्कै हुन् तर, पूर्णरुपमा ठप्प हुने अवस्था छैन ।’
शाहले नेपालका होटलको क्षमता बार्षिक ३५ देखि ४० लाख गेस्टलाई सेवादिन सक्नेगरी क्षमता भएपनि हाल १२ देखि १३ लाखसम्म मात्रै पर्यटक आएकाले अकुपेन्सी फूल हुने अवस्था भने पहिल्यैदेखि नभएको बताए । विदेशीहरुले भनेजस्तो नेपालमा सुरक्षा चुनौति छैन भन्ने कुरा हामीले बाहिर देखाउन र बुझाउन सकियो भने नेपालको पर्यटन पुनः पुरानै लयमा फर्किने उनको भनाई छ ।
‘पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ । विगतका विपदमा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।’ उनले भने, ‘हाम्रो अनुमानमा अहिले होटल अकुपेन्सी न्यूनतम ३० प्रतिशतमा झरेको छ । यसलाई बेलैमा ट्याकल गरेन भने पर्यटन उद्योगमा दीर्घकालीन असर पर्ने निश्चित छ । तर, पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र मानेर भारत र चीनबाट पर्यटक आकर्षण गर्न सकिन्छ ।’
यसैगरी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष रमेश थापाले अन्तरराष्ट्रिय बजारमा केही असर परे पनि पर्यटन क्षेत्र सुस्ताएको मात्र भएको बताए । उनले जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा अनिश्चितता भने निम्त्याएको भएपनि विगतका महामारी र प्राकृतिक विपत्तिबाट सिकेको पाठलाई ग्रहण गर्दै छिट्टै सामान्य अवस्था फर्काउन सकिने बताए । ‘पर्यटकहरूको विश्वास जित्न सरकार र व्यवसायीहरूको सहकार्य आवश्यक छ,’ उनले भने, ‘हामीले आन्तरिक पर्यटनलाई प्राथमिकता दिँदै बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।’
व्यवसायीहरूले सरकारसँग यसअघिका विपदमा दिएको जस्तो यस बर्ष भने पर्यटन क्षेत्र रिभाईभ गर्न सकिने खालको कुनै योजना नभएको बताएका छन् । नेपालको अर्थतन्त्रमा ७ प्रतिशत योगदान दिने पर्यटन क्षेत्र कोभिडपछि जेनतेन उठेको थियो । जेनजी आन्दोलनले पुनः यसमा चुनौती थपेपनि व्यवसायीहरू भने आशावादी नै देखिन्छन् ।







