Logo

हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित

हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित



काठमाडौं । इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले गाजामा बन्धक बनाएकामध्ये जीवित रहेका विश्वास गरिएको २२ जनाको सूचीमा विपिनको पनि नाम रहेको छ ।

वासिङ्टन पोस्टले ‘इजरायलले अझै जीवित रहेको विश्वास गर्ने बन्धकहरू को हुन् ?’ शिर्षकमा विपिन जोशीको विवरण उल्लेख गरेको छ । ‘हमला हुनुभन्दा एक महिना अगाडि बिपिन जोशी आफ्नो जन्मभूमि नेपालबाट इजरायल आएका थिए । उनी गाजामा जीवित रहेको विश्वास गरिने एक मात्र गैरइजरायली बन्धक हुन्। उनी गाजा सीमामा रहेको किबुट्ज अलुमिममा काम गर्न र कृषि अध्ययन गर्न विद्यार्थी आदानप्रदानमा इजरायल आएका थिए’ वासिङ्गटन पोस्टले लेखेको छ, ‘कार्यक्रममा सहभागी १७ नेपाली विद्यार्थीमध्ये दश जनाको आक्रमणमा मृत्यु भएको थियो । जोशी, जसले लुकेको बम आश्रयबाट धेरै जीवित ग्रिनेड फ्याँक्न सफल भएका थिए, घाइते भए र अपहरणमा परे।’

यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो। सार्वजनिक भएको ४८ बन्धकको सूचीमा २६ जना मृतक भनि उल्लेख थियो भने विपिनसहित २ जनाबारे कुनै उल्लेख थिएन ।

गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार)वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्