काठमाडौं । पहेँलो चम्किलो धातु सुनले मानव सभ्यताको इतिहासमा सधैं विशेष स्थान ओगटेको छ । प्राचीन कालदेखि नै यसको महत्व उच्च रहँदै आएको छ ।
अझ पछिल्लो समय बढेको यसको मूल्यले मान्छेलाई यसको महत्व यति किन भनेर घोत्लिने बताएको छ । विश्वबजारकै कुरा गर्दा हाल सुनको मूल्य प्रतिऔंस ४ हजार डलरमाथि पुगेको छ । नेपाली बजारमा हाल सुन प्रतितोला २ लाख ५० हजार माथि कारोबार भईरहेको छ । तर, यसको मागमा भने कमि भने आईसकेको छैन ।
सुनको दुर्लभता, खिया नलाग्ने गुण, चमकिलो रंग, लचकता र बहुमुखी उपयोगिताले यसलाई अन्य धातुहरूको तुलनामा महत्वपूर्ण बनाएको देख्न सकिन्छ ।
मानव इतिहासको प्रारम्भिक चरणमा नै सुनको महत्व प्रस्ट हुन्छ । करिब पाँच हजार वर्षअगाडि प्राचीन मिश्र सभ्यतामा सुन पहिलो पटक उत्खनन र प्रशोधन गरिएको ईतिहास छ । नाइल नदीको किनारमा पाइने यो धातुलाई फारोहरूले सुनलाई सुर्यको प्रतिविम्व मान्दै देवताहरूको सजावटका लागि प्रयोग गरे ।
यसको चम्किलोपना र खियाँ नलाग्ने गुण भएकै कारण मिश्रका राजाहरूले सुनका मूर्ति, ताज र गहनाहरू बनाएर आफ्नो वैभव प्रदर्शन गर्थे । सुनले हावा, पानी वा अम्लसँग प्रतिक्रिया गर्दैन, जसले गर्दा यो हजारौं वर्षसम्म पनि चम्किलो रहीरहन्छ । यो गुण अन्य धातुहरूमा कमै पाइन्छ – उदाहरणका लागि फलाममा चाँडै खियाँ लाग्छ र अलुमिनियम फिक्का भएर जान्छ ।
प्राचीन इतिहासको अर्को महत्वपूर्ण अध्याय रोमन साम्राज्य हो, जहाँ सुन मुद्रा प्रणालीको आधार बन्यो । रोमनहरूले सुनका सिक्काहरू (अरस) जारी गरेर व्यापार विस्तार गरे । यो धातुको दुर्लभता नै यसको मूल्यको मुख्य कारण हो । पृथ्वीको भित्री तहमा मात्र ०.००४ भागमा मिलिमिटरमा फैलिएको यो धातुको वार्षिक उत्पादन विश्वव्यापी रूपमा जम्मा तीन हजार टन जति हुन्छ ।
रोमनहरूले यसलाई लचकता (म्यालेबल) गुणका कारण विभिन्न आकार दिन सक्थे । एक ग्राम सुनलाई एक किलोमिटर लामो तार बनाउन सकिन्छ वा एक वर्ग माइल क्षेत्रमा पातलो तह बिछ्याउन सकिन्छ । यो विशेषताले गहनाहरू बनाउन सजिलो बनायो । तर अन्य धातुहरू जस्तै पित्तल, जुन पहेँलो देखिन्छ तर तामा र जिंकको मिश्रण हो, चाँडै हावा र पानीलगायतसँग प्रतिक्रिया गरी चमक गुमाउँछ ।
यता भारतीय र नेपाली परम्परामा पनि सुनको इतिहास गहिरो छ । वैदिक कालदेखि नै यसलाई धन र समृद्धिको प्रतीक मानिन्थ्यो । रामायण र महाभारतमा सुनका गहनाहरूको वर्णन छ, जसले यो धातुको सांस्कृतिक महत्व देखाउँछ । प्राचीन भारतमा सुनलाई विवाह र पूजाका लागि अनिवार्य मानिन्थ्यो, किनकि यसले खराव शक्तिबाट सुरक्षा दिने विश्वास थियो । विशेष गरी नाक कान घाँटी, हातलगायतमा सुनका गहना लगाउनुको पछाडि स्वास्थ्य लाभ पनि जोडिन्छ । सुनले छालासँग एलर्जी गर्दैन र विषाक्त हुँदैन, जसले संवेदनशील छालावालाहरूलाई पनि सुरक्षित राख्छ ।
अन्य धातुहरू जस्तै चाँदी वा निकेलले इन्फेक्शन निम्त्याउँछन्, तर सुन वर्षौंसम्म टिकाउ रहन्छ । क्यान्सर र मलेरियाको उपचारमा पनि यसको परीक्षण भइरहेको छ, जसले फलाम जस्ता धातुहरूको तुलनामा यसको बहुमुखीता प्रमाणित गर्छ । फलामले एनिमिया उपचारमा मद्दत गर्छ तर विषाक्त हुन सक्छ, जबकि सुन शरीरमा लामो समय प्रभावकारी रहन्छ ।
मध्ययुगमा सुनको महत्व आर्थिक रूपमा बढ्यो । युरोपेली साम्राज्यवादले अफ्रिका र दक्षिण अमेरिकाबाट सुन उत्खनन गरेर विश्वव्यापारलाई प्रभावित पार्याे । १९औं शताब्दीमा गोल्ड स्ट्यान्डर्ड सिस्टमले मुद्राहरूको मूल्य सुनसँग जोड्यो, जसले अन्तर्राष्ट्रिय व्यापार स्थिर बनायो । तर यो प्रणालीले सुनको दुर्लभतालाई झन् महँगो बनायो । आज पनि केन्द्रीय बैंकहरूले यसलाई रिजर्भको रूपमा राख्छन्, जसले माग उच्च राख्छ । वर्तमानमा, सुनको औद्योगिक प्रयोगले यसको मूल्यलाई थप बलियो बनाएको छ । इलेक्ट्रोनिक्समा यसको चालक गुणले सर्किटहरूमा प्रयोग हुन्छ, र अन्तरिक्ष प्रविधिमा यसको प्रतिबिम्ब गुणले महत्व दिन्छ ।
अब प्रश्न उठ्छ, सुनभन्दा महँगो धातुहरू जस्तै ओस्मियम, रोडियम र इरिडियम किन गहनामा प्रयोग हुँदैनन ? ओस्मियम प्रति औंस सत्तरी हजार डलरको छ तर यो अत्यन्त कठोर हुन्छ । यसलाई गहनाको रुपमा आकार दिन गाह्रो पार्छ र विषाक्त ग्यास पनि निकाल्छ । रोडियम कारका कन्भर्टरहरूमा प्रयोग हुन्छ तर लचक हुँदैन । इरिडियम खियाँ नलाग्ने भए पनि दुर्लभ र भारी हुन्छ ।
पछिल्लो समय बढेको मुद्रास्फीति वा युद्धजस्ता संकटका कारण यसको मूल्य लगातार उकालो लागिरहेको सुनसम्बन्धी विज्ञहरु बताउँछन् । २०२५ मा आइ बबल र डलरको कमजोरीले यसको मूल्यमा उछाल आएको उनिहरुको भनाई छ ।