काठमाडौं । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले टुर्नामेन्ट’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।
कोशी प्रदेशका पाँच जिल्लाहरू — झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यो प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइने भएको छ। प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रत्येक दिन दुईवटा खेल हुने छन्।
विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीले प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु रहेको बताए।
उनका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किंग्सको विकास टिम ९डेभलपमेन्ट स्क्वाड० मा चयन गरिनेछ। ती खेलाडीहरूले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षणका अवसर प्राप्त गर्नेछन्। साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीलाई आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको मुख्य टिममा खेल्ने विशेष अवसर प्रदान गरिनेछ।
हालका वर्षहरूमा नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हासिल गरेसँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दो क्रममा छ।
विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले सधैं युवा प्रतिभा विकास र खेल भावना प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।