काठमाडौं । पछिल्लो समयको अस्थिर राजनीतिकको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । नियामक निकायले सेयर बजारमैत्री नीति लिंदा पनि नेप्से परिसूचक दिनप्रतिदिन घट्दै गएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सेयर बजारका लगानीकर्ताले राखेको अधिकांश मागलाई सम्बोधन गरिदिएको छ । गत बुधबार एकीकृत निर्देशलाई संशोधन गर्दै विगत लामो समयदेखि लगानीकर्ताले सेयर कर्जामा लाग्दै आएको सीमा हटाउनुपर्ने माग पनि सम्बोधन गरिदिएको छ । बैंकहरुलाई सेयर खरिदबिक्रीमा पनि सहज नीति लागु भएको छ ।
यता, पछिल्लो समय बैंकको ब्याजदर निकै तल आएको छ । अधिकांश बैंकहरुको सेयर कर्जाको ब्याजदर एकल अंकमा रहेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । सबै हिसाबले माहोल सेयर बजार मैत्री भएपनि बजार सकारात्मक गतिमा अगाडि बढ्न सकेको छैन । यसको प्रमुख कारण भनेको पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीति रहेको सेयर बजारका अग्रज लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताहरु स्थिर राजनीतिको प्रतिक्षामा रहेको उनीहरुको भनाई छ ।
पछिल्लो समय केन्द्रीय बैंकले लगानीकर्ताको अधिकांश माग सम्बोधन गरेकोप्रति नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अभार व्यक्त गरेका छन् । तथापि, केन्द्रीय बैंकले माग सम्बोधन गरिदिएपनि मुलुकमा देखिएको अस्थिर राजनीतिको कारण सेयर बजारले सकारात्मक लय समात्न नसकेको उनको भनाई छ । ‘मुलुकमा पछिल्लो समयदेखिएको अस्थिर राजनीतिको कारण सेयर बजारका लगानीकर्ताहरु अन्योलमा छन्’ उनले भने, ‘फलस्वरुपः अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।’ साथै, उनले चाडपर्वको माहोल र त्रैमासको क्लोजिङको समय भएकाले पनि त्यसको केही असर सेयर बजारमा पनि परेको बताए ।
यता, अग्रज लगानीकर्ता छोटेलाल रौनियार पनि पछिल्लो समयदेखिएको राजनीतिक अस्थिरताको कारण सेयर बजारमा नकारात्मक असर परेको बताउँछन् । ‘राजनीतिक अस्थिरताको कारण अहिले पुँजी बजार सकारात्मक गतिमा अगाडि जान नसकेको हो’ उनले भने । साथै, अहिले त्रैमासिक ब्याजदर भुक्तानीको असर पनि सेयर बजारमा परेको उनको भनाई छ । सेयर बजारका सबै पाटाहरु अहिले सकारात्मक रहेको उनले बताए । ‘पछिल्लो समय नियामक निकाय अर्थ मन्त्रालय, राष्ट्र बैंक, सेबोन सेयर बजारप्रति सकारात्मक रहेका छन्’ उनले भने । साथै, बैंकको ब्याजदर, तरलतालगायतका कुराहरु पनि बजारमैत्री भएकाले अगामी दिनमा सेयर बढ्ने अपेक्षा व्यक्त गरे । यता, अर्का एक ठूला लगानीकर्ता पनि पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीतिको कारण सेयर बजारका लगानीकर्ताको मनोबल खस्एिको बताउँछन् । उनले अस्थिर राजनीति नसुध्रिएसम्म लगानीकर्ताको मनोबलमा सुधार नआउने बताए ।
त्यस्तै, नेपाल स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल पनि पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीतिको चेपुवामा सेयर बजार परेको बताउँछन् । ‘जेनजी आन्दोलन पछि व्यवसायिहरु तथा लगानीकर्ताको आत्मविश्वास गुमेको छ’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो ।’ सेयर बजार मैत्री नीति आउँदा पनि लगानीकर्ताको मनोबल खस्किएको उनको भनाई छ ।