Logo

युवा संघले असोज २५ गते शक्ति प्रदर्शन गर्ने, ओलीको चेतावनी–एमालेलाई नजिस्क्याउनु, केपी ओली डराउने मान्छे होइन

युवा संघले असोज २५ गते शक्ति प्रदर्शन गर्ने, ओलीको चेतावनी–एमालेलाई नजिस्क्याउनु, केपी ओली डराउने मान्छे होइन



काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले असोज २५ गते आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ । युवा संघले मोटरसाइकल र्‍याली गरेर आफ्नो शक्ति देखाउने एमालेका पोलिटब्युरो सदस्य एवम् युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले चेतावनी दिएका हुन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले अब एमालेका युवाहरू चुप लागेर नबस्ने बताए । उनले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी पनि दिए । ‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औँलाको भरमा लडेको महेश बस्नेतको टोली हो । केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’

गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै बस्नेतले हावा भरका जेनजीको उक्साहटमा नलाग्न सावधान गराए । साथै, भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए । ‘सहयोग गर्न तयार छौँ । हाम्रा बारेमा पनि छानबिन गर्नुस्’, उनले भने, ‘तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस् ।’ उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न गर्दै बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए ।

गृहमन्त्रीलाई ओलीको चेतावनी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गर्दै गृहमन्त्रीलाई लक्षित गर्दै भने ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु ।’

साथै उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे । उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेनजीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’

संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेनजी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

उनले थपे, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ ? कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्नू । यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’

उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको भन्दै एमालेलाई नजिस्क्याउन चेतावनी दिए। ‘हामी जेलनेल भोगेर आएका हौं। हाम्राको लागि यो नयाँ कुरा होइन,’ उनले थपे। ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं; हामीलाई जिस्काइरहनु पर्दैन। हामीले जनताको शासन भनेर ल्याएका हौं। लडेका हौं।’

प्रतिक्रिया दिनुहोस्