काठमाडौं । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङ, कलाकार, कन्टेन्ट क्रियटर तथा युट्युबरहरूमाथि किटानी जाहेरी दर्ता गरिएको छ ।
अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गरेको जाहेरीमा उनीहरूलाई राज्यविरुद्धको कसुर, आतंकवादविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजना, विस्फोटक पदार्थ र सार्वजनिक सम्पदाविरुद्धका अपराध मा संलग्न रहेको आरोप लगाइएको छ ।
जाहेरीमा हालैको ‘जेन–जी आन्दोलन’का क्रममा सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको उल्लेख गरिएको छ। जाहेरीवालाले विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो र भिडिओहरू प्रमाणका रूपमा प्रहरीमा पेस गरेका छन्।
उक्त जाहेरीमा मेयर साह र गुरुङसहित कलाकार संजोग कोइराला, निश्चल बस्नेत, हिमेश पन्त, भोजराज थापा, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युबर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, जेन–जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, सामाजिक अभियन्ता केपी खनाल, कलाकार रिमा विश्वकर्मा, टिकटकर मनोज के।सी।, युजन राजभण्डारी र रामकुमार खड्का समेतमाथि कारबाहीको माग गरिएको छ।

