काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहको गति नबढ्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको असोज २६ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट ५६ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस तथ्यांकले बैंक तथा वित्तीय संस्थाले करिब ३ महिनाको अवधिमा ४० अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन्, यो निकै नै कम हो । चालु आर्थिक वर्षको सुरुवाती समयमा केही बढेको कर्जा प्रवाह विस्तारै खुम्चिएको छ । विशेषत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि कर्जाको माग ठप्प भएको एक बैंकरले बताए । व्यवसायिको आत्मविश्वाश गुम्दा कर्जाको माग नआएको हो । बैंक तथा वित्तीय संस्थामा निक्षेप भने बढेको बढ्यैं छ । पछिल्लो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ७४ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ७३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप थियो । निक्षेप बढ्दा र कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय अधिक तरलताको अवस्था छ । बैंक तथा वित्तीय संस्थामा करिब साढे ११ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम(अधिक तरलता) थुप्रिएको छ । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरैले बढ्न थालेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो ७४.५९ प्रतिशत छ ।
नियामकिय प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । तर, बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगदै राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा सीडी अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ ।
यसकारण बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म ऋण दिन) पाउँछन् । अहिले अर्थतन्त्रका बाहृय क्षेत्र बलियो रहेको छ । रेमिट्यान्स बढेको छ । ब्याजदर निकै तल्लो बिन्दुमा आएको छ । यस्तो अवस्थामा सरकारले उद्योगी व्यवसायिहरुको आत्मबल बढाएर कर्जा प्रवाह बढाउनुपर्ने जानकारहरु बताउँछन् । कर्जा विस्तार बढाउन सरकारले खर्च बढाउनुपर्छ ।
यता, बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै केन्द्रीय बैंकलाई त्यसलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । राष्ट्र बैंकले दिनैपिच्छे जस्तो निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा तान्दै आएको छ । निक्षेप संकलन उपकरणको ब्याजदर निकै तल आउँदा पनि बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा पैसा राखिरहेका छन् । पछिल्लो तथ्यांकअनुसार निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.७४ प्रतिशत रहेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधामार्फत पनि ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले अर्बौं रुपमा केन्द्रीय बैंकमा राख्दै आएका छन् ।