Logo

प्रहरी नै पीडित : सम्पूर्ण दोषीमाथि कारबाही गर्न माग

प्रहरी नै पीडित : सम्पूर्ण दोषीमाथि कारबाही गर्न माग



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी नै पिडित भएकाे पाइएकाे छ। जेनजी आन्दोलनका क्रममा भएको नरसंहार र विध्वंसको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगमा उपत्यकाका पीडित प्रहरीले उजुरी दिएका छन् । असोज १९ गते दर्ता भएको निवेदनमा सुरक्षा संयन्त्रका प्रमुख अधिकारीहरु र तत्कालीन राजनीतिक नेतृत्वमाथि शंकास्पद गतिविधि र षड्यन्त्रको आरोप लगाउँदै तत्काल निलम्बन गरी कारबाहीको माग गरिएको छ ।

भदौ २४ गते उपत्यकाको कमान्ड सम्हालेका एआईजी दानबहादुर कार्कीले गोली नचलाउने र थुनुवाहरुलाई छोड्ने आदेश दिएर प्रहरीलाई आत्मसमर्पण गर्न लगाएको उजुरीमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको नयाँ जिम्मेवारी पाएका एआईजिपी दान बहादुर कार्की आन्दोलनकारी नआउँदै रानीपोखरीबाट भागिसकेका उजुरीमा उल्लेख छ ।

‘उनी आफ्नो कार्यालय छोडेर नेपाली सेनाको हेडक्वार्टर भद्रकालीमा गए । सम्मानित आयोगलाई अवगत होस् उनले आफूले मात्र कार्यालय छाडेनन् । काठमाडौं उपत्यकाका तीनवटै प्रहरी परिसरलाई प्रहरीले प्रयोग गर्ने वाकीटकी सेटबाट प्रहरी हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई छोड्ने आदेश दिएर प्रहरीलाई आत्मसमर्पण गर्न लगाएका थिए ।’ उजुरीमा भनिएको छ ।

सोहीक्रममा १ हजार ५ सयभन्दा बढी हतियार र ९० हजार राउण्ड गोली लुटिएको उजुरीमा उल्लेख छ । निवेदकले कार्कीमाथि आगामी प्रधानमन्त्री रवि लामिछाने बन्ने र आफू आईजीपी हुने व्यक्तिगत स्वार्थ र बदनियतले काम गरेको आरोप लगाएका छन् । सोही कारण देशको मुख्य प्रशासनिक भवन सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतलगायत महत्त्वपूर्ण प्रतिष्ठानहरु ध्वस्त भएको उजुरीमा उल्लेख छ ।

निवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणी दुवाडीलगायतका नेतृत्वले घटनाको प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने माग गरेको छ । साथै, भदौ २३ गते गोली चलाउने आदेश दिने तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीलगायतका अधिकारीहरुलाई समेत तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्