काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा आज हस्ताक्षर भएको छ । यी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर भएको हो । यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौंस्थित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरुप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ ।
यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने अर्थमन्त्रालयले जनाएको छ । जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ । यो परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ । त्यसका लागि नेपाल विद्युत प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुनेछ । यो सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।
प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ । यसअन्तर्गत २१ मिलियन युरो सम्मको अनुमानित प्रतिबद्धता सहित जर्मनीले सहयोग पुर्याउने छ ।
स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउनेछ । साथै, कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवद्र्धन गर्न, शासन क्षेत्रमा, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइनेछ जसले दिगो विकासमा योगदान पुर्याउने अपेक्षा छ ।
साथै, थप रुपमा अध्ययन तथा विज्ञ कोषमार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गर्नेछ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने उल्लेख गरिएको छ ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरुले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्शाउने बताए । उनले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको दीर्घकालीन सहकार्य र महत्वपूर्ण योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा जर्मन संघीय गणतन्त्रका राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताए ।