Logo

नेपालमै धमाधम मोटरसाइकल एसेम्बल हुँदै, देशलाई पार्टपूर्जाबाटै ३ महिनामा साढे ७ अर्ब राजस्व आम्दानी

नेपालमै धमाधम मोटरसाइकल एसेम्बल हुँदै, देशलाई पार्टपूर्जाबाटै ३ महिनामा साढे ७ अर्ब राजस्व आम्दानी



काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांकअनसुार ठूलो संख्यामा एसेम्बल नगरिएका मोटरसाइकल भित्रिएका छन् । नेपालमै मोटरसाइकल एसेम्बल हुन थालेको करिब ५ बर्ष बितिसकेको छ । यस अवधिसम्म नेपालमा मोटरसाइकल बिक्रेताहरुले विभिन्न देशहरुबाट पार्टपूर्जाहरु ल्याएर नेपालमा जडान गरी विक्री गर्ने गरेका छन् ।

यसैअनुरुप चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोज मसान्तसम्म मात्रै नेपालमा एसेम्बल नगरिएका ६५ हजार ६ सय बढी मोटरसाइकल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालमा यस अवधिमा कुल ८ अर्ब २१ करोड रुपैयाँ बराबरको सेम्बल नगरिएका मोटरसाइकल आयात भएका हुन् । यसमार्फत नेपालले ३ महिनामै ७ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ बढी आयात राजस्व संकलन गरेको छ ।

खासगरी नेपालमा एसेम्बल गरिएका वा तयारी मोटरसाइकल र एसेम्बल नगरिएका मोटरसाइकलको भन्सार शुल्क फरक–फरक छ । तर, भन्सार विभागको तथ्यांकलाई आधार मान्दा एसेम्बल नगरिएका मोटरसाइकलबाट उठेको भन्सार शुल्क पघिल्लो ३ महिनामा धेरै राजस्व संकलन भएका वस्तुको सूचीको तेस्रो स्थानमा छ । नेपालमा आयात भई राजस्वमा धेरै योगदान गर्ने पहिलो र दोस्रो स्थानमा भने क्रमशः पेट्रोल र डिजेल छन् । यस अवधिमा पेट्रोल आयातबाट १० अर्ब ९७ करोड रुपैयाँ र डिजेलबाट ९ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

यस अवधिमा एसेम्बल नगरिएका १ सय २५ सिसीसम्मका ४५ हजार ७ सय, १ सय २५ देखि २ सय सिसीसम्मका १३ हजार र २ सय देखि माथि सिसी क्षमताका ६ हजार ७ सय थान मोटरसाइकल आयात भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यी विभिन्न क्षमताका एसेम्बल नगरिएका मोटरसाइकल आयात हुँदा नेपालले क्रमशः ९ अर्ब ८ करोड, १ अर्ब ६५ करोड र १ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसै अवधिमा एसेम्बल गरिएका मोटरसाइकल पनि सोही मात्रामा आयात भएपनि आयात राजस्व भने न्यून नै छ । यस अवधिमा नेपालमा १ सय २५ सिसीसम्मका ६ हजार ८ सय थान मोटरसाइकल आयात भएका छन् । ७० करोड ८२ लाख रुपैयाँ मूल्य बराबरका यी मोटरसाइकल आयात हुँदा नेपालले ८५ करोड ६५ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । यस्तै यसै अवधिमा १२५ देखि २०० सिसीसम्मका पनि ३ हजार १ सय बढी थान मोटरसाइकल आयात भएका छ ।

नेपालले धेरै आयात राजस्व संकलन गर्ने वस्तुको सूचीको उच्च १० मा विद्युतीय सवारीसाधन पनि छन् । विभागको तथ्यांकलाई आधार मान्दा १५० किलोवाट क्षमताका १५ सय ४५ थान विद्युतीय सवारीसाधन आयात हुँदा यसबाट नेपालले २ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विद्युतीय सवारीसाधन धेरै राजस्व संकलन हुने वस्तुहरुको सूचीको पाँचौ स्थानमा छ । यस्तै धेरै राजस्व संकलन हुने वस्तुको चौथो स्थानमा भने खाना पकाउने ग्याँस छ । यस अवधिमा नेपालले १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ग्याँस आयात गरी २ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै स्मार्टफोन आयातबाट २ अर्ब ५४ करोड, १ हजारदेखी १५ सय सिसी क्षमताका इन्जिन गाडी आयात गरी २ अर्ब २७ करोड, फलामजन्य वस्तुहरु आयात गरी १ अर्ब ७७ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । यद्यपि नेपालले आयात गरी उच्च राजस्व संकलन गर्ने वस्तुहरु माथि उल्लेखित भएपनि उच्च आयात हुने वस्तुको पहिलो, दोस्रो र तेस्रो स्थानमा भने क्रमशः कच्चा भटमासको तेल, डिजेल, रसायनिक मललगायत छन् ।

यस अवधिमा सबैभन्दा बढी आयात हुने वस्तुको पहिलो सूचीमा रहेको कच्चा भटमासको तेल मात्रै ३० अर्ब २४ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ । यसमार्फत जम्मा ९४ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्