काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।
बडादशैँको दूर्गा मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडपको स्थिति सिर्जना भएको प्रशासनले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सूचना जारी गर्दै दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा हिन्दु र मुस्लिम समुदायबीच झैझगडा भएको कारण निषेधाज्ञा जारी गर्नु परेको बताएका छन्।
स्थानीय प्रशासनले डुडुवा गाउँपालिका-६ नेपालगञ्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुर गाउँपालिका( ५ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा लागु भएका स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस वा र्याली गर्न, धर्ना, सभा समारोह गर्न, हतियार बोक्न र उच्छृङ्खल गतिविधि गर्न निषेध गरिएको छ।
स्थानीय प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ। शान्ति, सुरक्षा र धार्मिक सद्भाव कायम गर्न सहयोग गर्न समेत कार्यालयले अनुरोधसमेत गरेको छ।
