Logo

निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा, छ करोड ६६ लाखमा निर्माण

निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा, छ करोड ६६ लाखमा निर्माण



काठमाडौं । निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ ।

मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य सरोकारवालाबिचको छलफलपछि बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो । छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउन्टर कात्तिक १४ गते १ बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय गरेको छ ।

यसैगरी बसपार्कवाट छुट्ने सबै यातायात प्रालिका सवारीसाधनमध्ये ट्याक्सीको हकमा दुई/दुई वटा र अन्य सवारीसाधन एक/एक वटा यात्रु चढाउनका लागि शिवालय चोकमा राख्न पाइने, लामो दुरीमा आउजाउ गर्ने सबै सवारीसाधनले शिवालय चोकमा यात्रु झार्न र चढाउन पाउने, राजमार्ग छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने निर्णय भएको छ ।

बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु ११ लाख १९ हजार दुई सय ५२ मा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भएपछि सञ्चालनको प्रक्रिया अघि बढेको थियो ।

अबदेखि नियमित रूपमा बसपार्कबाटै जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई कुन ठाउँमा सवारीसाधनको प्रतीक्षा गर्ने भन्ने झन्झट हटेर जाने र यसले अव्यवस्थित रूपमा हुँदै आएको पार्किङ र दुर्घटनाहरू न्यूनीकरण हुने उनले बताए । पुनले बसपार्क सञ्चालनका लागि रङरोगन, विद्युतीकरणलगायत सबै तयारी सकिएको बताए ।

निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बनेको, अव्यवस्थित पार्किङले सवारी दुर्घटनाहरू बढ्दै गएको, यात्रुहरूले सुरक्षित रूपमा सवारीसाधन प्रयोग गर्न नपाएको जस्ता समस्या बढेको भन्दै लामो समयदेखि बजारवासीहरूले बसपार्क सञ्चालनको मागसमेत गर्दै आएका थिए ।

बसपार्क सञ्चालन नहुँदा कुस्माको शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित रूपमा सवारीसाधनहरू पार्किङ गरेर राख्ने गरिएको थियो । भवनसहित बसपार्कको संरचना अघिल्लो असारमै निर्माण गरेर गत वर्षको कात्तिकमै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाको आन्तरिक तयारीका कारण सञ्चालन गर्न केही समय ढिलो भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङ र सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने बताए । रु छ करोड ६६ लाख तीन हजार २५० लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुई तले भवनसहित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सङ्ख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारीसाधनहरू छुट्ने गर्छन् भने दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधनहरू बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्माहुँदै जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्