Logo

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार



काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही १३ असोजदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीनवटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ले २० असोजको राति ११: ५५ बजेसम्म ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले १ लाख १९ हजार ५६१ टिकट बिक्री भएबापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ । यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन् । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले सबैभन्दा कम ३ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ । उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएबापत सो व्यापार भएको हो । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्