काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल अवस्थामा पुगेको छ । ब्याजदर निरन्तर घटेपनि कर्जा प्रवाह सुस्त छ । आर्थिक गतिविधि चलायमान नहुँदा कर्जा लगानी बढ्न सकेको छैन । फलस्वरुप बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर घटिरहेपनि तत्काल लगानी बढेर तरलता कम हुने अवस्था छैन । बैंकहरुमा अधिक तरलता भएपछि केन्द्रीय बैंकलाई उक्त तरलता व्यवस्थापन गर्न सकस भएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकले अधिक तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापनमा प्रयोग हुने निक्षेप संकलन उपकरणको ब्याजदर चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झारेको छ । वित्तीय प्रणालीमा अधिक तरलता समस्या झनै जटिल हुँदा निक्षेप संकलन उपकरणको ब्याजदर घटेको हो ।
केन्द्रीय बैंकले बुधबार चालु आर्थिक वर्ष सुरु भएदे िकै लामो समयका लागि निक्षेप संकलन उपकरण जारी गरेको थियो । १७५ दिनको लागि ४० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । यसको ब्याजदर २.७४ प्रतिशत निर्धारण भएको छ । यसअघि कात्तिक ९ गते ९० अर्ब निक्षेप संकलनको ब्याजदर २.७२ प्रतिशत निर्धारण भएको थियो ।
कम ब्याजदरमा बैंकहरुले धमाधम राष्ट्र बैंकमा राख्दै आएका छन् । पैसालाई यत्तिकै राख्नुभन्दा थोरै भएपनि आम्दानी हुने भएकाले केन्द्रीय बैंकमा रकम राखेको एक बैंकरले बताए । तथापि, केन्द्रीय बैंकको ब्याज आम्दानीले लागत भने नउठ्ने ती बैंकरको भनाई छ । केन्द्रीय बैंकले ब्याजदर अस्वाभाविक उतारचढाव हुन नदिन वित्तीय क्षेत्रको तरलताका लागि ब्याज दिएर खिच्छ भने तरलता कसिलो हुँदा ब्याज लिई बैंक तथा वित्तीय संस्थालाई तरलता दिन्छ । स्थायी निक्षेप सुविधाबाट तरलता व्यवस्थापन हुन नसक्दा केन्द्रीय बैंकले निक्षेप उपकरण प्रयोग गर्छ । निक्षेप उपकरणको ब्याजदर पनि स्थायी निक्षेप सुविधाकै हुन्छ । प्रणालीमा अधिक तरलता भएको खण्डमा अन्तरबैंक दर घट्ने भएपछि अल्पकालीन ब्याजदरमा अस्वाभाविक उतारचढाव आउँछ । त्यसको असर बचतकर्तासम्म पुग्छ ।
कर्जा र निक्षेपको अवस्था कस्तो ?
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ७५ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै, यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सीडी रेसियो ७४.२५ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत छ ।







