Logo

जेनजी आन्दोलनमा ध्वस्त भएपछि अन्यौलमा इम्बोस्ड नम्बर र सवारी लाइसेन्स प्रणाली, पुनः जडान र वितरण कहिले ?

जेनजी आन्दोलनमा ध्वस्त भएपछि अन्यौलमा इम्बोस्ड नम्बर र सवारी लाइसेन्स प्रणाली, पुनः जडान र वितरण कहिले ?



काठमाडौं । एक महिनायता इम्बोस्ड नम्बर प्लेट जडान र स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया हाल अन्यौलग्रस्त छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण इम्बोस्ड नम्बर प्लेट छपाई हुने र भण्डारण गरिएको कारखाना, स्मार्ट लाइसेन्स छाप्ने मेसिनलगायत ध्वस्त भएपछि छपाई र वितरण पुनः सुरु गर्न लामो समय लाग्ने देखिएको छ ।

भदौ २३–२४ गते युवा पुस्ताको नेतृत्वमा भएको देशव्यापी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा भएको आगजनीले करिब आठ लाख इम्बोस्ड नम्बर प्लेटहरू नष्ट भए । असोज १ गतेदेखि सुरु हुने भनिएको इम्बोस्ड नम्बर प्लेटको अनिवार्य जडान प्रक्रिया केहि हदसम्म सुरु भएपनि आन्दोलनपछि सरकारको प्रक्रिया नै रोकिएको अवस्था छ । यसैगरी, स्मार्ट लाइसेन्स छपाइका लागि आवश्यक मेसिन र कार्डहरू पनि जलेर खरानी भएपछि लाखौं सेवाग्राहीको वितरण प्रक्रिया पनि अलपत्र परेको छ । यी दुवै प्रक्रिया एकअर्कासँग जोडिएका कारण आन्दोलनले यी सेवालाई पूर्ण रूपमा ठप्प बनाएको मान्न सकिन्छ ।

यद्यपि यातायात व्यवस्था विभागले विभागको इडीएल भिआरएस डाटा प्रणालीमा क्षति नपुगेकाले काम भने जारी रहने बताउँदै आएको छ । तर, विभागले हालसम्म न इम्बोस्ड नम्बर प्लेट छपाई र वितरणका लागि केही ठोस निर्णय गर्न सकेको छ न लाइसेन्स छपाईका लागि नयाँ मेसिन खरिद र जडान प्रक्रिया नै अघि बढाउन सकेको छ । यसबीचमा अब आन्दोलन अघि भईरहेको कामलाई निरन्तरता कसरी दिने भन्नेबारेमा आन्तरिक छलफल भईरहेको विभागका सूचना अधिकारी गणेशमान सिं राई बताउँछन् । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य बनाउन लामो समयदेखि रस्साकस्सी गरेको थियो । सवारी चोरी नियन्त्रण, ट्रयाकिङ सुविधा र सवारीसाधनलाई डिजिटल्ली नियमनका लागि यो प्रणाली आवश्यक ठानेर २०७३ देखि नै विभिन्न चरणमा प्रयास गरियो । तर, महँगो शुल्क, अंग्रेजी लिपि प्रयोग, पूर्वाधार अभाव र भ्रष्टाचारका आरोपले पटक–पटक विरोध भयो ।

सर्वोच्च अदालतमा २२ पटक पेसी चढेको मुद्दा पनि टुंगिन सकेन । अन्ततः भदौमा बसेको तत्कालिन मन्त्रिपरिषद्ले असोज १ गतेदेखि दर्ता, नामसारी र नवीकरणमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको थियो । यसअघि आठ लाख प्लेट उत्पादन भइसकेका थिए र ८० हजार सवारीमा जडान पनि सम्पन्न भइसकेको थियो । तर, जेनजी आन्दोलनमा विभागको पछाडि रहेको प्लेट उत्पादन कारखाना, सर्भर र भण्डारणलाई पूर्ण रूपमा ध्वस्त बनाएपछि यसको काममा एकाएक अवरोध लागेको हो । यसबाट अर्बौं रुपैयाँको क्षति भएको र अब यहि संरचना पुनर्निमाण गरी सेवा पुनः सुरु गर्न शुन्यबाटै सुरु गर्नुपर्ने अवस्था आएको राई बताउँछन् ।

आन्दोलनको प्रभाव इम्बोस्ड प्लेटमा मात्र सीमित रहेन, स्मार्ट लाइसेन्स वितरणलाई पनि अन्योलग्रस्त बनाएको छ । विभागमा राखिएका छ लाख थान स्मार्ट कार्डहरू जलेर नष्ट भए । त्यति मात्रै होईन यी कार्डहरु पर्सनलाईज गरी छाप्ने मेसिनहरु पनि कामै नलाग्नेगरी जलेका छन् । लामो समयदेखि भरपर्दाे र भनेको समयमा स्मार्ट लाइसेन्स दिन नसकिरहेको भन्दै आलोचना खेपिरहेको विभागले २ बर्षअघि मात्रै लाइसेन्स छपाई तीव्र गर्न मास प्रिन्टर भित्र्याएको थियो ।

आन्दोलमा परी प्रिन्टर पनि जलेर कामै नलाग्ने भएपछि हाल लाइसेन्स छपाईको काम पूर्णरुपमा ठप्प मात्रै छैन पुनः यसको छपाई प्रक्रिया कहिले हुने भन्ने यकिनसमेत छैन । तर, विभागले यसको डिजिटल डाटा भने ब्याकअपमा सुरक्षित रहेको बताएको छ । असोज ३ गते विभागले विज्ञप्ति जारी गर्दै डाटा रिकभर गरेर पञ्जीकरण विभागको मेसिनबाट छपाइ सुरु गर्ने तयारी भइरहेको जनाएको छ । यसअघि नै स्मार्ट लाइसेन्स छपाइमा ढिलाइ हुँदा २० लाखभन्दा बढी सेवाग्राहीले वर्षौंसम्म प्रतीक्षा गर्नुपरेको थियो । विभागका अनुसार, ट्रायल पास भएका वा नवीकरणका लागि आवेदन दिएकाहरूको डाटा सुरक्षित छ, तर भौतिक कार्डहरू नष्ट भएकाले नयाँ छपाइमा महिनौं लाग्न सक्छ ।

यातायात व्यवस्था विभागका एक अधिकारीले आन्दोलनपश्चात विभाग शून्य अवस्थामा पुगेको बताए । ‘हामीले गर्दै आएका विभिन्न काम अनिश्चितकालका लागि स्थगितजस्तै भएका छन्,’ उनले भने, ‘कहिलेदेखि यो प्रक्रिया नियमित हुन्छ, अहिले नै केही भन्न सक्ने अवस्था छैन ।’ ति अधिकारीका अनुसार विभागले पूर्वाधार पुनर्निर्माण नभएसम्म कुनै नयाँ समयतालिका घोषणा नगर्ने जनाएको छ । जेनजी आन्दोलनको दबाबले नीतिमा परिवर्तन आउने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस्