Logo

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने



काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ ।

बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ ।

उप–आयोजना निर्देशक तथा समितिका सूचना अधिकृत उद्धव नेपालका अनुसार आजदेखि ड्यामको पानी नदीमा छोडिनेछ । ‘धाप ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसैले आजैदेखि पानी छाड्ने तयारी छ, विशेष दिनमा ड्यामको पानी बागमती नदीमा छाडिँदै आइएको छ’, उनले भने ।

उनका अनुसार बागमती नदीमा दुई दिनसम्म प्रतिसेकेण्ड चार सय लिटर पानी छोडिनेछ । ‘यसरी पानी छोड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ’, नेपालले भने ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले छठको अवसरमा बागमती नदीमा पानी छोड्नका लागि माग नआएकाले नदीको पानीको बहाब बढाउन पानी नछोड्ने बताए ।

छठ पूजा विशेष गरी तराई क्षेत्रबासीहरुको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । यस पर्वमा महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् ।रासस

प्रतिक्रिया दिनुहोस्