Logo

चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र, लक्ष्य छ लाख मेट्रिक टन आयात गर्ने

चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र, लक्ष्य छ लाख मेट्रिक टन आयात गर्ने



काठमाडौँ । चालु आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ ।

किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्य अनुसार सरकारले आवश्यक प्रबन्ध मिलाएको स्पष्ट पारेको छ । रासायनिक मल आयातका लागि सरकारले रु. २८ अर्ब ८२ करोड १४ लाख बराबर बजेट विनियोजन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिकटन मल आपूर्तिको चरणमा छ । त्यसमा कृषि सामग्री कम्पनीको युरिया ३३ हजार ३३८ मेट्रिकटन, साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ हजार ६७० मेट्रिकटन बराबर छ । कृषि सामग्री कम्पनीले युरिया, डिएपीसमेत गरी कूल एक लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको छ ।

मन्त्रालयका अनुसार, हाल एक लाख आठ हजार ९०८ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डिएपी, युरिया, पोटास समेत गरी कूल ६३ हजार आठ सय मेट्रिक टन र साल्ट्र ट्रेडिङ कर्पोरेशनमा ४५ हजार १०८ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ ।

हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्