काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट साढे ३५ अर्ब रुपैयाँ मात्रै थप कर्जा विस्तार भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब २७ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसअनुसार चालु आर्थिक वर्षको दुई महिनामा कर्जा प्रवाह ३५ अर्ब ४८ करोड रुपैयाँ अर्थात् ०.६ प्रतिशत मात्रै थप कर्जा विस्तार भएको छ ।
पछिल्लो केही समयदेखि कर्जा प्रवाहमा सुस्तता आउँदा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । ब्याजदर निकै तल आउँदा पनि कर्जाको माग बढ्न सकेको छैन भने तरलता व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ब्याजदरमा नै खर्बौं रुपैयाँ केन्द्रीय बैंकमा राख्दै आएका छन् ।
यस्तो अवस्थामा केन्द्रीय बैंकको तथ्यांकअनुसार चार क्षेत्रमा प्रवाह हुने कर्जा घटेको छ । कर्जा प्रवाह घट्ने क्षेत्रमा व्यक्तिगत ओभरड्राफ्ट, रियल स्टेट, विपन्न वर्ग कर्जा र बिल पर्चेज कर्जा घटेको छ । दुई महिनामा व्यक्तिगत ओभरड्राफ्ट कर्जा ३.६ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड रुपैयाँले घटेको छ भने रियल स्टेट कर्जा १.६ अर्थात् ४ अर्ब ४५ करोड रुपैयाँले घटेको छ । त्यस्तै, विपन्न वर्ग कर्जा ५.९ प्रतिशत अर्थात् १७ अर्ब ३९ करोड रुपैयाँ र बील पर्चेज कर्जा ४.४ प्रतिशत अर्थात् ५४ करोड रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यता, दुई महिनामा आयात कर्जा ६.७ प्रतिशत अर्थात् ८ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । यसअवधिमा सेयर धितो कर्जा ३.५ प्रतिशत अर्थात् ४ अर्ब ९० करोड र २ करोडसम्मको व्यक्तिगत घर कर्जा २.३ प्रतिशत अर्थात् ९ अर्ब ७९ करोड रुपैयाँले बढेको छ । त्यस्तै, नगद प्रवाह कर्जा १.७ प्रतिशत अर्थात् ११ अर्ब १२ करोड रुपैयाँले बढेको छ । ट्रम लोन १.१ प्रतिशत अर्थात् २३ अर्ब २२ करोड रुपैयाँले बढेको छ । अरु चार क्षेत्रको कर्जाको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ ।