काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दती निक्षेपको हिस्सा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ४७.६० प्रतिशतमा आएको छ । जबकी २०८१ को भदौमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा ५६.३५ प्रतिशत थियो । जसअनुसार एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ८८ अर्ब ७१ करोड रुपैयाँ मुद्दती निक्षेपबाट बाहिरिएको छ ।
विगतमा बढ्दो ट्रेन्डमा रहेको मुद्दती निक्षेपको हिस्सा पछिल्ला वर्षहरुमा भने घटेको हो । यस गिरावटको मूल कारण भनेको मुद्दती निक्षेपमा पाइने ब्याजदरमा आएको निरन्तर गिरावट भएको जानकारहरु बताउँछन् । अहिले अधिकांश बैंकको मुद्दती निक्षेपको हिस्सा निकै तल आएको छ । बैंकहरुले पनि अहिले तरलता पर्याप्त भएको भन्दै मुद्दतीभन्दा चल्ती र बचत खातातर्फ ध्यान दिनुपर्ने अवस्था आएको बताइरहेका छन् ।

यता, बचत खाताको हिस्सा भने बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा बचत खाताको हिस्सा ३७.८२ प्रतिशत रहेको छ । २०८१ को भदौ महिनामा बैंक तथा वित्तीय संस्थामा बचत खाताको हिस्सा ३०.७७ प्रतिशत थियो । बैंकमा प्रशस्त लगानी योग्य रकम भए पनि कर्जा प्रवाह नभए हुन नसक्दा तरलता थुप्रिएर बसेको छ । जसको असर ब्याजदर घट्दै गइरहेको छ । ब्याजदरमा भएको गिरावटले बैंकको मुद्दती निक्षेप तथा संस्थागत निक्षेपमा असर गर्दै गएको देखिन्छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको बढ्यै गर्दा कर्जा विस्तार भने अपेक्षितरुपमा बढन सकेको छैन । जसका कारण बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले कम अवधिको निक्षेपलाई कम प्राथमिकतामा राखेका छन् । बैंकलाई स्रोतको खाँचो पर्दा मात्र उनीहरुले यस्तो निक्षेपलाई प्राथमिकतामा राख्ने गरेका छन् भने स्रोत पर्याप्त हुँदा निरुत्साहित गर्छन् ।
घट्दो ब्याजदरको असरका कारण एक वर्षमा करिब २ खर्ब मुद्दती निक्षेप बाहिरिएको छ । केन्द्रीय बैंकको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा ३४ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ५.१३ प्रतिशत अर्थात् १ खर्ब ८८ अर्ब रुपैयाँले कम हो । २०८१ को भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३६ खर्ब ७८ अर्ब रुपैयाँ थियो ।







