काठमाडौं । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका छन् । आज (बिहीबार) एमालेले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीलाई पक्राउ गरिएको खण्डमा देशभरी आगो बाल्ने चेतावनी दिएका हुन् ।
‘मैले हिजो पत्रकार सम्मेलनमा भनेँ– तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाउ । देशभरी आगो बल्ने छ,’– उनले भने ।
साथै, नेता बस्नेतले आगामी असोज २५ गते एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गर्ने बताए । उनले भने, ‘२५ गते राष्ट्रिय युवा संघ नेपालले १ बजे तिनकुनेबाट मोटरसाइकल र्याली गरेर देखाउँदैछ । युवाहरुको तागत के हो ? नेकपा (एमाले) का तागत के हो ? तपाईँहरु सबैलाई २५ गते जान म आग्रह गर्दछु ।’