काठमाडौं । तपाईँ काठमाडौंमा यात्रा गर्दैगर्दा आफ्नो सवारीसाधन कतिपटक घच्याक घच्याक पार्नुपर्छ ? अर्थात सार्वजनिक यातायातमा चढेर गन्तव्यमा जानुपर्दा भनेकै समयमा पुग्नुभएको छ ? भनेको समयमा गन्तव्यमा पुग्न सकिनेगरी करिव ३ बर्षअघिसम्म काठमाडौंका सडक अल्लि खुल्लै हुन्थे । निजी सवारीसाधन पनि त्यति धेरै रोक्नुपर्दैनथ्यो । अर्थात सवारी जाम उदेकलाग्दो थिएन । पछिल्ला ३ बर्षयता भने काठमाडौमा सवारी जामको अवस्था विकराल अवस्थामा पुगेको छ । निजी सवारी भएको कुनै यात्रु घरबाट निस्केपछि गन्तव्यमा भनेकै समयमा पुग्न कठिन हुन्छ । अझ सार्वजनिक सवारीसाधनमा बढेको यात्रुको त बिजोगकै अवस्था हुन्छ ।
पछिल्ला केहि बर्षदेखि सवारी जामले दैनिक जीवनलाई नै असहज बनाइदिएको छ । बिहान कार्यालय जाँदा वा बेलुका घर फर्किँदा घण्टौं लाग्ने, इन्धन खर्च बढ्ने र तनाव थपिने समस्या काठमाडौंलगायतका देशका मुख्य शहरहरुमा बसोबास गर्ने सर्वसाधारणको साझा पीडा बनेको छ । उपत्यकामा विकराल बन्दै गएको सवारी जामको समस्या दिनप्रतिदिन झन जटिल बन्दै गएको छ । सडक पूर्वाधारको अभावसँगै सवारी संख्याको अस्वाभाविक वृद्धिले यो अवस्था निम्तिएको सार्वजनिक यातायात विज्ञ तथा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी अधिकृत आशिष गजुरेल बताउँछन् । उनका अनुसार, सवारी जाम हुनुको मुख्य कारण सवारीको संख्या बढी हुनु तर ती सवारीसाधन गुड्ने सडक सोही क्षमताको नहुनु नै हो । ‘कुनै क्षेत्रमा साँघुरो सडक छ तर त्यो सडकले धान्न नसक्ने गरी सवारीसाधनहरु थपिएको खण्डमा सवारीसाधनले आफु हिँड्नका लागि पालो कुर्नुपर्ने हुन्छ, जसलाई सवारी जाम भनिन्छ । काठमाडौंमा भएको पनि यहि हो,’ उनी भन्छन् ।
गजुरेलले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा व्यवस्थित नहुँदा यात्रुहरु बाध्यतावस निजी सवारीसाधन खरिद गर्न बाध्य भएको बताए । हरेक बर्ष यस्ता निजी सवारीसाधनहरु थपिरहने तर, त्यहिअनुसार सडक पूर्वाधार भने यथास्थितिमै रहने प्रवृत्ति हावी भएपछि पछिल्लो समय नेपालमा सवारी जामको चाप लगातार बढेदो छ । सरकारले केहि बर्षदेखि थोरै भएपनि सडक चौडा गर्ने, फ्लाईओभर, अण्डरपास, आकाशेपुललगायत निर्माण गर्ने प्रक्रिया अघि बढाएपनि ति संरचना बन्दासम्म सडकमा सवारीसाधनको संख्या नयाँ संरचनाले पनि नधान्नेगरी बढिसकेको हुन्छ । ‘यहि प्रवृत्ति रहीरहे केहि बर्षपछि काठमाडौंको सडक ठप्पै हुने अवस्था आउने निश्चित छ । यसका लागि सरकारले बेलैमा सोच्नैपर्छ,’ उनले भने, ‘खासगरी काठमाडौंको सडक जामको चाप कम गर्नका लागि सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्नैपर्छ ।’यसो भएको खण्डमा सर्वसाधारणहरु सार्वजनिक सवारीसाधन प्रयोग गर्न थाल्नेछन् र निजी सवारीसाधनको संख्या घट्ने उनको तर्क छ ।
यो प्रक्रियाले यत्तिकै पनि जाम कम गराईहाल्छ, विदेशका विकसित सहरहरुमा यहि अभ्यास निरन्तर छ । यससँगै सडक पूर्वाधारमा पनि सोही अनुसार ध्यान दिनुपर्ने उनको सुझाव छ । सरकारले तीव्र वृद्धि भईरहेको निजी सवारीसाधनको खपत रोक्ने कुनै ठोस पहल भने गरेको देखिँदैन । बरु, विपरीत नीतिहरूले यो समस्या झन् बढाउँदै लगेका छन् । पछिल्लो समय सार्वजनिक सवारीसाधन व्यवस्थित नहुँदा सर्वसाधारणले निजी सवारीसाधन ऋण गरेरै भएपनि किन्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो बेलामा सरकार सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्नतर्फभन्दा पनि निजी गाडी भित्र्याउनका लागि सवारी कर्जालाई खुकुलो बनाउने, विद्युतीय सवारीको कर्जामा सहजीकरण गरिदिनेलगायतका व्यवस्थाहरु गर्दै आएको छ । यसैका कारण हालै पनि चारपांग्रेदेखि दुईपांग्रेसम्म अर्वौं बराबरका निजी सवारीसाधनहरु मासिक रुपमा नेपालमा भित्रिरहेका छन् । कालान्तरमा यी सवारीसाधनहरु सवारी जाम गराउने मुख्य घटक हुनेभएपनि हालसम्म सरकारले यसको नियन्त्रणतर्फ भने ध्यान दिएको छैन ।
यो नीतिगत कमजोरीले सडकमा सवारीको भार झन् बढाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक नरेशराज सुवेदीका अनुसार, हाल काठमाडौं उपत्यकामा झण्डै ५० लाख सवारीसाधन निरन्तर रुपमा संचालन भईरहेको आँकलन छ । ‘गत आर्थिक बर्ष २०८१÷८२ सम्म काठमाडौं उपत्यकामा साना ठुलासहित सबै गरेर १८ लाख बढी सवारीसाधनहरु दर्ता भएका छन्,’ उनले भने, ‘काठमाडौंमा यहाँका मात्रै नभई बाहिर अन्य स्थानमा दर्ता भएका सवारीसाधनहरु पनि उत्तिकै चल्ने हुनाले काठमाडौंको सडकमा ५० लाख हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान गर्न सकिन्छ ।’ सोही अनुसार सडक भने चौडा नभएको उनको बुझाई छ ।
सरकारले पछिल्लो समय बढिरहेको जाम व्यवस्थापन गर्न ट्राफिक बत्ती राख्ने, सडकहरु चौडा बनाउनेलगायतका कामहरु गरिरहेपनि सवारीसाधनको संख्या लगातार बढिरहेकाले आगामी दिनमा भने यसको वैकल्पिक उपाय खोज्नुपर्ने उनको भनाई छ । ‘यसको बैकल्पिक उपाय भनेकै सवारीसाधनको संख्या घटाउन सकिनेगरी सार्वजनिक सवारी व्यवस्थापन गर्नैपर्छ,’ उनले भने, ‘हाल ट्राफिक प्रहरीहरु विभिन्न स्थानमा खटाउने, सोहीअनुसार ट्राफिक व्यवस्थापन गर्नेलगायतका काम भईरहेकै छ । खासगरी चावहिल, गौशाला, कोटेश्वर बानेश्वर थापाथली, रत्नपार्क वरीपरी, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, महाराजगंजलगायतका स्थानमा जाम हुने भएपछि यी स्थानहरुमा सोहीअनुसार ट्राफिकहरु खटाउँदै आएका पनि छौं ।’
यद्यपि, सवारीचालकहरुले पनि लेन अनुशासन पालना गरिदिने, आफ्नो पालोमा मात्रै सवारी अघि बढाउने, सार्वजनिक सवारीसाधनका लागि लागू गरिएको पिक एण्ड ड्रपको व्यवस्था मानिदिने गर्नाले पनि सवारी जाम केहि हदसम्म कम गर्न सकिने उनको तर्क छ । तर, यी प्रयासहरू मात्रै पनि पर्याप्त भने छैनन् किनकि सवारी संख्याको वृद्धि नै जामको मूल जड हो । गत आर्थिक वर्षमा दर्ता भएका १८ लाखभन्दा बढी सवारीमध्ये धेरैजसो निजी सवारी नै छन्, जसलाई सरकारको कर्जा नीतिले प्रोत्साहन पनि दिएको छ । सार्वजनिक यातायातको अभावमा सर्वसाधारण ऋणको बोझ बोकेर निजी गाडी किन्न बाध्य छन् ।
यता यातयात व्यवसायीहरु भने काठमाडौंमा सवारीजाम हुनुको प्रमुख कारण नै दुईपांग्रे सवारीसाधनलाई मान्छन् । लगातार बढिरहेका दुईपांग्रे सवारीसाधन र उनिहरुले मिच्ने लन अनुशासनले सार्वजनिक यातायात पनि व्यवस्थित हुन नसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् । ‘काठमाडौंमा मात्रै २५ लाख बढी दुईपांग्रे सवारीसाधनहरु संचालनमा छन्, यीनै सवारीसाधनहरु बढी दूर्घटनामा पर्ने र यीनै सवारीसाधनका कारण जाम हुनेगरेको पाईएको छ,’ उनले भने, ‘सरकारले यसलाई नियन्त्रण गर्न सकियो भने पनि अहिलेको सवारीजाम मात्रै नभई सवारी दूर्घटना पनि कम गर्न सकिने देखिन्छ ।
उनका अनुसार दुईपांग्रे सवारीसाधन नियन्त्रण गर्नका लागि सरकारले सार्वजनिक सवारीको रुपमा ठुला बसहरु सिटिभित्र चलाउने, उनिहरुलाई छुट्टै लेनको व्यवस्था गरिदिनेलगायतका क्रियाकलापहरु गर्नुपर्ने उनको सुझाव छ । यस्तो हुँदा सार्वजनिक सवारीसाधन भनेकै समयमा गन्तव्यमा पुग्न सकेको अवस्थामा यसप्रति सर्वसाधारणको विश्वास बढेसँगै निजी सवारीको पनि संख्या घट्ने र सवारी जामको समस्या न्यूनीकरण हुने उनको तर्क छ । यस्तै केहि यातायात कार्यालयहरुले पछिल्लो समय जथाभावी रुप परमिट दिएर सवारीसाधनहरु मनलाग्दै जहाँ पायो त्यहिँ चल्न थालेपछि पनि जामको समस्या बढेको उनको तर्क छ ।
सरकारको नीति : निजी सवारीलाई प्रोत्साहन, सार्वजनिकलाई उपेक्षा
सरकारको नीतिले पनि काठमाडौं उपत्यकामा हुनेगरेको सवारी जामको समस्यालाई झन् गम्भीर बनाएको छ । सवारी कर्जालाई खुकुलो बनाउने र विद्युतीय सवारीमा सहजीकरण गर्ने व्यवस्थाले मासिक अर्बौंका सवारी भित्र्याउन मद्दत गरेको छ । चारपाङ्ग्रे गाडीदेखि दुईपाङ्ग्रेसम्मका निजी सवारीहरूको आयात बढ्दै गएको छ, जसले सडकको क्षमतालाई पार गरेको छ । तर, सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि कुनै ठोस योजना भने छैन । महानगरीय ट्राफिक प्रहरीले जाम व्यवस्थापनमा प्रयास गरे पनि यो अस्थायी उपचार मात्र भएको सुवेदीको भनाई छ ।
विदेशी सहरहरू जस्तै लन्डन वा टोकियोमा सार्वजनिक यातायातको भरपर्दाे प्रणालीले निजी सवारीलाई हतोत्साहित गरेको छ । नेपालमा पनि यही मोडल लागू गर्न सकिन्छ । तर, हालको अवस्थामा सडक विस्तारका परियोजनाहरू ढिलासुस्तीले गर्दा सवारी संख्या नयाँ पूर्वाधारले धान्न नसक्ने अवस्था सिर्जना भएको देखिन्छ । सार्वजनिक यातायात विज्ञ गजुरेलको भनाइअनुसार, सार्वजनिक सवारीलाई प्राथमिकता दिँदा निजी सवारी घट्नेछ र जाम कम हुनेछ । सुवेदी पनि यही विकल्पमा जोड दिन्छन् ।