काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहमा सुस्तता निरन्तर देखिएको छ । मुलुकको अर्थतन्त्रमा आएको मन्दीसँगै कर्जा प्रवाहमा सुस्तता छाएको हो । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ७४ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.२१ प्रतिशत छ ।
आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अझै बढ्न सकेको छैन । बैंकमा पैसा थुप्रिएपछि बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर समेत घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर समेत घटेको छ । यसले कर्जाको ब्याजदर केही सस्तो भए पनि कर्जा लगानी बढ्न भने सकेको छैन् ।
लगानीकर्ताको आत्मविश्वास खस्किंदा कर्जाको माग नभएको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बताए । लगानीकर्ताको मनोबल बढाएर उद्यमशीलतामा लगानी बढाउन सकिएको खण्डमा अर्थतन्त्र चलायमान हुने उनको भनाई छ । कर्जा लगानी नहुँदा बैंकहरुले राष्ट्र बैंकमा धमाधम पैसा राखिरहेका छन् । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम अल्पकालीन उपकरणहरुमा लगानी गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले मंगलबारमात्रै नेपाल राष्ट्र बैंकमा साढे ७ खर्ब रुपैयाँ जम्मा गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार कुल ७ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका हुन् । जसमध्ये ६ खर्ब ९२ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन् । त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत ७४ अर्ब ५५ करोड राष्ट्र बैंकमा बुझाएका हुन् ।
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन उपकरणमार्फत ९० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट झिक्न चाहेको थियो । बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब ५५ करोड रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै गएपछि बैंकहरुले पनि अल्पकालीन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन् ।