Logo

अस्थिर राजनीतिको असर अर्थतन्त्रमा : खराब कर्जा बढ्दो, चुनौतीमा बैंकिङ क्षेत्र

अस्थिर राजनीतिको असर अर्थतन्त्रमा : खराब कर्जा बढ्दो, चुनौतीमा बैंकिङ क्षेत्र



काठमाडौं । अर्थतन्त्र सुस्त हुँदा बैंकिङ क्षेत्रमा खराब कर्जा (एनपीएल) बढेको छ । पछिल्लो एक वर्षमा बैंकिङ क्षेत्रको खराब र कर्जा अनुपात समग्रमा ०.६९ प्रतिशत बिन्दुले बढेको तथ्यांकले पुष्टि गर्छ । यही बढ्दो खराब कर्जाले बैंकिङ क्षेत्रमा चुनौती र्सिजना गरेको बैंकरहरु बताउँछन् ।

‘पछिल्लो समय बढ्दो खराब कर्जाको कारण बैंकिङ क्षेत्रमा चुनौती र्सिजना गरेको छ’ एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरताको कारण उद्योगी व्यवसायीहरुको आत्मबल खस्एिको उनको भनाई छ । ‘पछिल्लो समय लगानी गर्नको लागि उद्योगिव्यवसायीहरुको आत्मबल गुमेको छ’ उनले भने, ‘जसको कारण अहिले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग ठप्प रहेको छ ।’ यो अवस्था अझै केही समय कायम रहने उनको भनाई छ । फलस्वरुपः अझै केही समय बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्ने उनको तर्क छ ।

बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणअनुसार खराब कर्जा बढ्नुको मुख्य कारण उच्च जोखिममा लगानी, फिर्ता नगरेको कर्जा तथा व्यावसायिक असफलतासँग जोडिएको छ । यसले बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापनको चुनौती अझ बढाएको छ । नेपाल राष्ट्र बैंकको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको समग्रमा खराब कर्जा ५.०६ प्रतिशत रहेको छ । विसं २०८१ को भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४.३७ प्रतिशत थियो ।

विस २०८२ को भदौ मसान्तमा वाणिज्य बैंकको खराब कर्जा ४.९१ प्रतिशत, विकास बैंकको ५.३४ प्रतिशत र फाइनान्स कम्पनीहरुको खराब कर्जा १०.५८ प्रतिशत रहेको छ । २०८१ को भदौमा वाणिज्य बैंकको खराब कर्जा ४.३२ प्रतिशत, विकास बैंकको खराब कर्जा ३.८७ प्रतिशत र फाइनान्स कम्पनीहरुको खराब कर्जा ९.२० प्रतिशत थियो । तथ्यांकहरुले बैंकहरुको खराब कर्जा अनुपात वर्षेनिजसो बढ्दै गएको देखाएको छ । पछिल्ला वर्षहरुमा अर्थतन्त्रमा आएको मन्दीले चौतर्फी असर गरेको छ । यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि देखिएको हो ।

साथै, गत भदौमा भएको जेनजी आन्दोलन पछि उद्योगी तथा व्यवसायीहरुको मनोबल झनै खस्किएको जानकारहरु बताउँछन् । विशेषत राजनीतिक अस्थिरताको कारण पछिल्लो समय कर्जाको माग लगभग ठप्प जस्तै रहेको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाले छोटो समय अवधिदेखि लामो समय अवधिसम्मको लागि ऋण प्रवाह गर्ने गरेका छन् ।

पछिल्लो केहि वर्षयता मुलुकको अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह अपेक्षित हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी समयमा उठाउन नसकेको बैंकरहरु बताउँछन् । यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्