Logo

अस्थायी ‘डाइभर्सन’ बनाएर बीपी राजमार्ग सञ्चालनमा जुट्यो सरकार

अस्थायी ‘डाइभर्सन’ बनाएर बीपी राजमार्ग सञ्चालनमा जुट्यो सरकार



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ ।

बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।

मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने ‘लाइफ लाइन’का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गरे ।

गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ ।

गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छ भने केही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्