Logo

अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना : पाइलटको सकुशल उद्धार, मानवीय क्षति भएन

अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना : पाइलटको सकुशल उद्धार, मानवीय क्षति भएन



काठमाडौं । सोलुखुम्बुको लुक्ला नजिकै लुबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ । आज ९बुधबार० बिहान उद्धारका लागि गएको उक्त हेलिकप्टर लुबुचेमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले हेलिकप्टरमा यात्रु नरहेको बताइन् । उनका अनुसार हेलिकप्टरमा एक्ला रहेका पाइलटको सकुशल उद्धार गरिएको छ ।

‘ल्याण्ड गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन् । दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ । हेलिकप्टरमा सामान्य क्षति पुगेको बताइएको छ ।

हेलिकप्टर काठमाडौंबाट उद्धार प्रयोजनका लागि लुबुचे गएको थियो । अहिले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्