काठमाडौं । बजार घटेपछि रोइकराईं र आन्दोलनमा उत्रने प्रवृत्ति पछिल्लो समय नेपाली सेयर बजारका लगानीकर्ताहरु माझ मौलाएको छ । बजार बढ्दासम्म बजार सुधार र विस्तारका बारेमा लगानीकर्ता एक शब्द बोल्दैनन् । जब सेयर बजार घट्न थाल्छ अनि नियामक निकायले पुँजी बजार सुधार र विस्तारको लागी काम नगरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिन्छन् । आन्दोलनकारी लगानीकर्ताहरुको मानसिकता नै आन्दोलन गरेपछि सेयर बजार बढ्छ वा नियामकमाथि धरपकड गरेर बढाउन सकिन्छ भन्ने द्खिन्छ ।
यसैको उदहरणस्वरुप पछिल्लो समय भएको लगानीकर्ताहरुको आन्दोलनलाई लिन सकिन्छ । केन्द्रीय बैंकले लचक नीति लिंदा पनि बजार निरन्तर घट्यो । बजार घटेपछि आन्दोनकारी लगानीकर्ताहरुमा राष्ट्र बैंकलाई भन्ने कुनै ठाउँ बाँकी रहेन । त्यसपछि उनीहरु धितोपत्र बोर्डप्रति खनिए । उनीहरुले नेपाल धितोपत्र बोर्डले बजार सुधारको काम गर्न ढिलाईं गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिनुका साथै त्यहाँका अध्यक्षलगायत उच्च तहका कर्मचारीलाइ बन्धक बनाए ।
आन्दोलनकारी लगानीकर्ताको थ्रेट र चेपुवामा परेको धितोपत्र बोर्डले उनीहरुको अधिकांश मागलाई सम्बोधन गर्ने जनायो । योसँगै सोमबार २५ सय मुनि आएको सेयर बजार पुनः उकालोतर्फ लागेको छ । आन्दोलनको जगमा सोमबार नेप्से परिसुचक ४४ अंकले बढेको छ । तथापि, आन्दोलनको भरमा उचालिएको बजार टिकाउ नहुने सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । सोहीअनुरुप सोमबारको बढ्दो बजारलाई कारोबार रकमले साथ दिएन ।
यसरी आन्दोलनको भरमा बढाएको सेयर बजार टिकाउ भने नहुने विगतका आन्दोलनहरुबाट पनि प्रष्ट देखिएको छ । आन्दोलन गरेको केही समय बजार बढेको जस्तो देखिएपनि त्यसले सेयर बजारलाई प्यानिक बानउने सेयर विश्लेषक तथा लगानीकर्ता राजु पौडेल बताउँछन् । ‘सेयर बजार घटेपछि आन्दोलनमा उत्रिने प्रवृत्ति नराम्रो हो’ उनले भने, ‘आन्दोलनको भरमा बजारलाई बढाउन वा घटाउन हुँदैन ।’ आन्दोलनपछि केही समय सेयर बजार बढेपनि त्यो दीर्घकालिन र टिकाउ भने नहुने उनको बुझाई छ । ‘सेयर बजारका लगानीकर्ताको आन्दोलनपछि सेयर बजार झन् प्यानिक बन्छ । आन्दोलन गरेरपछि सेयर बजार बढ्छ भन्ने मानसिकता त्याग्न पर्छ’ उनले भने ।
आन्दोलन र हुलहुज्जतबाट सेयर बजार बढाउन सकिन्छ भने मानसिकताबाट ग्रसित लगानीकर्ताका कारण बजार अझै प्यानिक बन्छ । आन्दोलन गरेर केही समय बजार बढाएर आफ्नो सेयर बेच्ने प्रवृत्ति आन्दोलनकारी लगानीकर्तामा रहेको छ । ‘अहिले केही ठूला लगानीकर्ताको उक्साहट र उनीहरुको योजनामा नियाममाथि आन्दोलन गर्ने प्रवृति हावी भएको छ,’ एक लगानीकर्ताले भने, ‘त्यस्ता लगानीकर्ताहरुले बजार घट्दा सेयर उठाएका हुन्छन् अनि आफ्नो स्वार्थका लागि आन्दोलन गर्न लगाई २÷४ दिन बढेको बजारमा आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिन्छन् ।’ आन्दोलनपछि प्यानिक बन्ने सेयर बजारमा अन्य सोझासीधा लगानीकर्ता पनि फस्न पुग्छन् । त्यसैले आन्दोलनमार्फत बजार बढाउने लगानीकर्तादेखि नियामक निकायसँगै सोझा लगानीकर्ताहरु पनि सचेत हुन आवश्यक छ ।
उदाहरणस्वरुप बजार घट्दा स्वार्थ केन्द्रित लगानीकर्ताले जुन सेयरको मूल्य घटाएर सर्वसाधारण लगानीकर्तालाई प्यानिक बनाएर बिक्री गर्न बाध्य बनाएका थिए । सोमबार त्यहि सेयरको मूल्यमा सर्किट लगाएका छन् । जस्तै अहिलेको बजारमा प्यानिक बन्न पुगेको नेपाल रि इन्स्योरेन्स, सिएचडिसी, एनआरएनजस्ता कम्पनीको सेयर मूल्यमा सर्किट लागेर बढ्न पुगेको छ । स्वार्थकेन्द्रित लगानीकर्ताले आइतबार प्यानिक बनेर घटेको तिनै कम्पनीको सेयर मूल्य आन्दोलन गर्न लगाएर त्यसको भोलिपल्ट अर्थात सोमबार सर्किट लगाएर बढाएका छन् । यो श्रृखला नेपाली पुँजी बजारमा बढ्दो रुपमा मौलाएको छ ।
बजार घट्दा आन्दोलन गरेर बजार बढाउँछौं भन्ने मानसिकता त्यागेर आफूसँग भएको सेयर होल्ड गरेर बस्नु उपयुक्त हुन्छ । सेयर बजारका लगानीकर्ताहरु बजार घट्दा आफूसँग भएको सेयर होल्ड गर्नुको सट्टा नियामक निकायलाई बजारको विकास र विस्तार नगरेको भन्दै सेयर बिक्री गरेर बहिरिने गरेका छन् । यसले बजारलाई झन घट्न टेवा पुर्याउछ । बजारको दीर्घकालिन विकास र सुधारका लागि घटेको बेलामात्रै आन्दोलन गर्ने होइन की नियामक निकायलाई बजार बढ्दा पनि झकझक्याउन आवश्यक हुन्छ ।