काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् । गृहमन्त्री ओम प्रकाश अर्यालले खड्का अमेरिका भागिसकेको आरोप लगाएका थिए । पूर्व गृहमन्त्रीको आरोपलाई खण्डण गर्दैै खड्का आज सर्वाजनिक भएका हुन् । उनी आफ्नो क्षतिग्रस्त घरबाटै फेसबुक लाइभमा आएका हुन् ।
‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ गृहमन्त्री अर्यालले अन्तरवार्तामा भनेका थिए ।
आफ्नै घरबाट आज सार्वजनिक भएका खड्काले आफ्नो विषयमा गरिएको समाचार सम्प्रेषणले अत्यन्त दया लागेको बताए । उनले आफू भाग्नुपर्ने कुनै कारण नै नरहेको बताए । ‘म के कारणले भाग्नुपर्यो र ? मैले गरेका निर्णयहरु, म पदमा हुँदा, म पदमा नहुँदा मैले गरेका व्यापार, व्यवहारहरु,’– उनले भने ।
पूर्व ऊर्जामन्त्री खड्काले आफूमात्रै नभएर सरकारमा बसेका आफ्नो पार्टीका कोही पनि नभाग्ने बताए । ‘म मात्रै होइन, मेरा पार्टीका मान्छे कोही भाग्दैनन् । सरकारमा बस्ने मान्छेहरु कोही भाग्दैनन् । भाग्नुपर्ने कुनै कारण छैन । मैले भनिहालेँ– आन्दोलनका विषयमा तत्कालीन सरकारले छानविनका लागि निर्णय नै गरेको छ । भाग्नु केलाई पर्यो ?’ उनले भने ।