काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा सेयर धितो कर्जा (मार्जिन नेचर लोन) करिब ५ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको दुई महिनामा सेयर धितो कर्जा ३.५ प्रतिशत अर्थात् ४ अर्ब ९० करोड रुपैयाँले बढेको छ ।
यस अवधिमा प्रवाह भएको सेयर धितो कर्जामध्ये १ करोड माथिको कर्जा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो गत आवको असार मसान्तसम्मको तुलनामा ३.४ प्रतिशत अर्थात ३ अर्ब ३९ करोड रुपैयाँले बढी हो ।
यस्तै चालु आवको पछिल्लो दुई महिनामा ५० लाखदेखि १ करोडसम्मको १ अर्ब ८७ करोड प्रवह भएको छ । यसअवधिमा २५ लाखदेखि ५० लाखसम्म र २५ लाखसम्मको कर्जा प्रवाह भने घटेको केन्द्रीय बैंकले जनाएको छ ।