Logo

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, अप्रिलमै मात्रै ३१ हजार बढी इभी विक्री

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, अप्रिलमै मात्रै ३१ हजार बढी इभी विक्री



काठमाडौं । विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) को बिक्री वृद्धिको उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले उक्त महिना ३१ हजार ४ सय ८८ वटा एनईभी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो।

चोंगकिंग लियाङजियाङ न्यू एरियामा अवस्थित सेरेसले चिनियाँ प्रविधि कम्पनी हुवावे सँगको सहकार्यमा चीनको एनईभी बजारमा बलियो उपस्थिति बनाएको छ। कम्पनीको प्रमुख मोडल एम ९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ, जसले बीएमडब्लु, मर्सिडिज बेन्ज जस्ता लक्जरी इन्धनचालित सवारी चढ्ने ग्राहकलाई आकर्षित गर्न सफल भएको छ।

५ लाख युआन (अन्दाजी ६९ हजार अमेरिकी डलर) मूल्य वर्गमा पर्ने एम ९ ले चीनको लक्जरी गाडी श्रेणीमा लगातार ११ महिनासम्म बिक्रीको अग्रस्थान कायम राखेको कम्पनीले जनाएको छ।

विश्लेषकहरूले सन् २०२५ को पहिलो त्रैमासिकमा आएको बिक्री घटावटलाई नयाँ मोडलमा भइरहेको ट्रान्जिसनसँग जोडेर व्याख्या गरेका थिए। मार्च महिनामा एम ९ को अद्यावधिक संस्करणको वितरण सुरु भएपछि र अप्रिलमा नयाँ मोडल एम ८ सार्वजनिक भएसँगै उपभोक्ताको चासो पुनः बढेको छ।

जनवरीमा कम्पनीले १२ हजार ४ सय ८३ युनिट बिक्री गरेकोमा, मार्चमा यो संख्या घटेर ५ हजार २ सय ३६ मा झरेको थियो। तर अप्रिलमा एम ९ को २०२५ संस्करणको पहिलो पूर्ण वितरणसँगै यो संख्या पुनः १३ हजार १ सय ४९ युनिटमा पुगेको हो।

सेरेसले अप्रिल १६ मा सार्वजनिक गरेको एम ८ मोडल एम ७ र एम ९ को बीचको श्रेणीमा पर्दछ। यसको मूल्य ३ लाख ५९ हजार ८ सयदेखि ४ लाख ४९ हजार ८ सय युआनसम्म तोकिएको छ। लिडार प्रविधि र हार्मोनीओएस ककपिट जस्ता उच्चस्तरीय सुविधासहितको यस मोडलले एम ९ भन्दा करिब १ लाख युआन सस्तो मूल्यमा स्मार्ट फिचरहरू प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्