काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । अधिक तरलताको अवस्था निम्तिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर रुपमा निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर पनि घटेको छ । आधार दर घटेकाले कर्जाको ब्याजदर पनि सस्तो हुँदै गएको हो ।
ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न सकेको छैन । यता, केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाएको सीमा हटाएको छ । विगतमा अनुत्पादक र जोखिमयुक्त कर्जा गणना गरी सेयर धितो कर्जा निरुत्साहित गरेको नेपाल राष्ट्र बैंकले बुधवार २५ करोड रुपैयाँ रहेको सेयर धितो कर्जाको अधिकतम एकल ग्राहक सीमा हटाएको हो । योसँगै सेयर कर्जाको माग बढ्ने अपेक्षा बैंकरहरुको रहेको छ ।
अहिले बैंकहरुले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्दै आएका छन् । बैंकहरुले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रवाह गर्दै आएका छन् । अहिले सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चाटर्ड बैंकको रहेको छ । तथापि, यसले हालसम्म सेयर धितो कर्जा भने प्रवाह गरेको छैन ।
यता, राष्ट्रिय वाणिज्य बैंकको आधारदर ४.७२ प्रतिशत छ । यसले १.५० प्रतिशतदेखि २ प्रतिशतसम्म प्रिमियम थप गरेर सेयर धितो कर्जा दिने जनाएको छ । जसअनुसार यस बैंकबाट ६.२२ प्रतिशतदेखि ६.७२ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा पाइन्छ ।
त्यस्तै, एभरेष्ट बैंकको आधार दर ५.०५ प्रतिशत छ । यसमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशत प्रिमियम थप गरेर सेयर धितो कर्जा दिने बैंकले जनाएको छ । जसअनुसार यस बैंकबाट ५.५५ प्रतिशतदेखि ७.५५ प्रतिशतसम्मको ब्याजदरमा सेयर धितो कर्जा पाइन्छ ।
अहिले बैंकहरुको ब्याजदर निकै तल आएको कारण अधिकांश बैंकको सेयर धितो कर्जा एकंल अंकमा रहेको छ । ८ वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा धेरै बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको बेस रेट ७.९१ प्रतिशत छ ।
