Logo

अन्ततः २२.५९ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो

अन्ततः २२.५९ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो



काठमाडौं । केन्द्रीय बैंकले लिएको सेयर बजार मैत्री नीतिको कारण कारोबारको सुरुवातमा उच्च अंकले बढेको सेयर बजार अन्ततः २२.५९ अंकले बढेर बन्द भएको छ । कारोबारको सुरुमा सकारात्मक सर्किट लाग्दा १०२.४१ अंकले नेप्से परिसूचक बढेको थियो । बिहीबार नेप्से कारोबार खुलेको ३ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । २० मिनेटको कारोबारपछि खुलेको बजारभने केही सम्हालिएर सुस्त गतिमा बढ्न थालेको थियो ।

विशेषत सेयर बजारका लगानीकर्ताहरुले विगत लामो समयदेखि मार्जिन प्रकृतिको कर्जाको सीमा हटाउने माग गर्दै आएका थिए । केन्द्रीय बैंकले बुधबार राती एक सर्कुलर जारी गर्दै उक्त सीमा हटाएको थियो । दुई दिन लगातार घटेको सेयर बजार लगानीकर्ता हौसिंदा बिहीबार भने बढेको छ ।

यता, बजार बढेपनि यसदिन कारोबार रकम भने घटेको छ । बिहीबार ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । जबकी बुधबार ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्