Logo

अभिकर्ताको विरोधपछि हिमालयन लाइफका सिईओ कर्णले दिए राजीनामा, विभेदकारी व्यवहार गरेको आरोप

अभिकर्ताको विरोधपछि हिमालयन लाइफका सिईओ कर्णले दिए राजीनामा, विभेदकारी व्यवहार गरेको आरोप



काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। अभिकर्ता र कर्मचारीहरूले निरन्तर आन्दोलन गरेपछि उनले पद छाडेका हुन्।

गत बुधबारदेखि अभिकर्ताहरूले सिईओको राजीनामा माग्दै आन्दोलन सुरु गरेका थिए। त्यसपछि सोमबारदेखि कम्पनीका कर्मचारीहरू पनि आन्दोलनमा सहभागी भएका थिए। उनीहरूले कार्यालय परिसरमा धर्ना दिएका थिए र सिईओसहित केही कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए।

अभिकर्ता र कर्मचारीहरूले सिईओ कर्णमाथि विभेदकारी व्यवहार गरेको आरोप लगाएका थिए। उनी निकट समूहका अभिकर्ता र कर्मचारीलाई मात्र सुविधा दिने र अरूलाई आधारभूत सुविधा समेत नदिने आरोप लगाइएको थियो। साथै, आन्दोलनरत अभिकर्तासँग समस्या समाधानका लागि संवाद गर्नुभन्दा पनि सिईओले गुटबन्दी बढाएको उनीहरूको आरोप छ।

आन्दोलनमा रहेका अभिकर्ताहरूले बोनसदर वृद्धि लगायतका माग अघि सारेका थिए। उनीहरूले बीमितलाई भुक्तानी गरिने बोनसदर न्यूनतम ५० रुपैयाँ पुर्‍याउन, बीमितको हितलाई प्राथमिकता दिन, प्रतिस्पर्धी कम्पनीहरूसँग बराबरीको बोनसदर लागू गर्न, व्यवस्थापनको लापरवाही नियन्त्रण गर्न र विभेदकारी नीतिको अन्त्य गर्न माग गरेका थिए।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीहरूको एकीकरणबाट गठन भएको हो। कर्ण यसअघि युनियन लाइफ इन्स्योरेन्सका सिईओका रूपमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्