Logo

अस्तव्यस्त खुल्लामञ्चको बसपार्क, यात्रुलाई दुर्घटनाको त्रास

अस्तव्यस्त खुल्लामञ्चको बसपार्क, यात्रुलाई दुर्घटनाको त्रास


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चको बसपार्क व्यवस्थित गर्न नसक्दा यात्रुमा दिनहुँ दुर्घटना हुनसक्ने त्रास बढेको छ ।

बागबजारको पुरानो बसपार्कमा महानगरले नै काठमाडौँ भ्यू टावर बनाउन दिएपछि बस राख्ने स्थल खुलामञ्चमा सारिएको थियो ।

एक वर्षअघि बनाइएको बसपार्क गुणस्तरीय नभएका कारण कालोपत्रे उक्किएर खाल्डाखुल्डीमा परिणत भएको छ । बसपार्कभित्र यात्रुका लागि सवारी साधान कुरेर बस्ने सिँढी नहुँदा यत्रतत्र उभिन बाध्य हुनुपर्छ ।

हिउँदमा बेलुकी ५ः०० बजे नै अँध्यारो हुन्छ तर बसपार्कमा बत्तीको व्यवस्था नहुँदा बेलुकी मोटरसाइकल, कार, जिपलगायतका सवारी साधन बसपार्कबाट निस्कँदा र पस्दा सधैँ यात्रुलाई ठक्कर दिनसक्ने त्रास बढेको यात्रु केशवप्रसाद भण्डारी गुनासो गर्छन् ।

‘बसपार्क निर्माण भई एक वर्षदेखि यहाँबाट यातायात सञ्चालन भए पनि अहिलेसम्म बत्तीको व्यवस्था छैन ’ उनले भने बेलुकी सवारी साधन पर्खने क्रममा सवारीको एकोहोरो बत्तीले केही देख्न सकिन्न, सवारी साधनले हानेर दुर्घटनामा परिने डर छ ।’

महानगरका जनप्रतिनिधिले जनताको करबाट मोवाइललगायतका सुविधाको उपभोग गर्दा पनि यो समस्याबारे जानकारी नलिएको उनको गुनासो छ । ।

बसपार्कमा वीर अस्पताल अगाडिबाट सवारी साधन निरन्तर गुडिरहँदा सवारी साधन कुर्ने यात्रु दुर्घटनामा पर्नसक्ने अवस्था छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दरबारमार्ग वृत्तका ट्राफिक प्रहरी यहाँ खटाए पनि मोटरसाइकल, कार, जिपलगायत सवारी साधनलाई बसपार्क भित्र प्रवेशमा रोक नलगाइएको सम्बद्ध यात्रुको भनाइ छ ।

महाशाखाका प्रवक्ता उमेश रञ्जीतकार मोटरसाइकल, कार र जिपलगायत निजी सवारी साधनमा आफ्ना मानिस पु¥याउन र लिन जाने निहुँमा बसपार्क छिर्ने गरेको स्वीकारछन् ।

सार्वजनिकबाहेकका खाली सवारी साधान पनि रत्नपार्क घुमेर जानुभन्दा छिटो हुने भएकाले बसपार्कबाटै छिरेर निस्कने गरेका छन् ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की खुलामञ्चको बसपार्क अस्थायी प्रकृतिको भएकाले व्यवस्थित हुन नसकेको बताउछन् । ‘पहिले बसपार्क रहेको स्थानमा काठमाडौँ भ्यू टावर निर्माण भइसकेपछि त्यसको तल्लो तलामा बसपार्क सर्छ तर यो अस्थायी भएकाले पनि बत्तीलगायत मर्मत सम्भारमा ध्यान नगएको हो’– उनले भने ।

भ्यू टावर निर्माणमा वर्षौं लाग्ने भएकाले यहाँबाट उपत्यकाका सबै स्थानमा जाने र आउने सवारी साधनका लागि बसपार्क व्यवस्थित बनाइनुपर्ने यात्रुको माग छ । तर तीन महिनादेखि वीरअस्पताल अगाडिको फुटेको ढल मर्मत नभएको प्रवक्ता कार्की बताउछन् । अस्पतालले ढल नबनाउँदा बसपार्क क्षेत्र ढलमय बनेको उनको गुनासो छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL