काठमाडौं । पछिल्लो समय नेपालमा लगातार महँगी दर घटिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार मासिक तथ्यांक सार्वजनिक गर्दै भदौ मसान्तसम्म नेपालको मुद्रास्फीति १.८७ प्रतिशत रहेको जानकारी दिएको छ । २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ ।