Logo

ट्रम्पद्वारा क्यानडासँगका सबै व्यापार वार्ता समाप्त : धोका दिएको भन्दै आक्रोशित

ट्रम्पद्वारा क्यानडासँगका सबै व्यापार वार्ता समाप्त : धोका दिएको भन्दै आक्रोशित



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति क्यानडासँग भइरहेका सबै व्यापार वार्ता तत्काल समाप्त गर्ने घोषणा गरेका छन्। उनको भनाइमा, क्यानडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको वक्तव्यलाई ‘धोका दिने’ तरिकाले विज्ञापनमा प्रयोग गरेको छ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै उनले, ‘क्यानडाले ठगीपूर्ण रूपमा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भिडियो विज्ञापन प्रयोग गरेको छ। शुल्क (ट्यारिफ) अमेरिकी राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण छन्। त्यसैले उनीहरूको आपत्तिजनक व्यवहारका कारण क्यानडासँगका सबै व्यापार वार्ता यतिखेर नै समाप्त गरिन्छ।’

क्यानडा अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार हो। तर, राष्ट्रपति ट्रम्पले हालै क्यानडाबाट आउने धेरै वस्तुहरूमा दोहोरो अंकका शुल्क (ट्यारिफ) लगाएका छन् र बारम्बार क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउन सुझाव दिँदै आएका छन्।

यसबीच, अमेरिका, क्यानडा र मेक्सिकोले साझा स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका लागि तयारी गरिरहेका छन्, जसको समीक्षा अर्को वर्षको गर्मीमा सक्ने योजना थियो।

ट्रम्पले जस विज्ञापनको उल्लेख गरेका छन्, त्यो विज्ञापन क्यानडाको सबैभन्दा ठूलो प्रान्त ओन्टारियो सरकारले तयार पारेको हो। झण्डै ७५ मिलियन क्यानाडियन डलर (५३.५ मिलियन अमेरिकी डलर) लागतमा बनेको उक्त विज्ञापनमा सन् १९८७ मा राष्ट्रपति रेगनले दिएको एउटा भाषणको अडियो प्रयोग गरिएको छ, जसमा उनले शुल्क नीति (ट्यारिफ)लाई आर्थिक दृष्टिले विनाशकारी बताएको थियो।

ओन्टारियो सरकारका अनुसार उक्त विज्ञापन अमेरिकी टेलिभिजन च्यानलहरू न्यूजम्याक्स र ब्लूमबर्गमा प्रसारण सुरु भइसकेको छ र आगामी दुई साताभित्र अन्य अमेरिकी च्यानलहरूमा पनि देखाइनेछ।

प्रतिक्रिया दिनुहोस्