Logo

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख नाघ्यो, ९३ अर्ब बढी योगदान

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख नाघ्यो, ९३ अर्ब बढी योगदान



काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। पछिल्लो समय कोषमा सूचिकरण, योगदान रकम संकलन र सहभागितामा उल्लेखनीय वृद्धि भएको कोषले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएका थिए। हालसम्म देशभरका २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध भइसकेका छन्।

तर, औपचारिक क्षेत्रका श्रमिक बढी संलग्न भए पनि अनौपचारिक क्षेत्रका श्रमिकहरूको सहभागिता न्यून देखिएको छ। कोषका तथ्यांक अनुसार हालसम्म औपचारिक क्षेत्रमा ६ लाख ४० हजार श्रमिक आवद्ध छन् भने अनौपचारिक क्षेत्रका जम्मा ७९४ जना मात्र सहभागी भएका छन्।

श्रम सर्वेक्षण, २०७५ अनुसार नेपालमा कुल ७० लाख ८६ हजार जना रोजगारीमा रहेका छन्। तीमध्ये २६ लाख ७५ हजार औपचारिक क्षेत्रमा र ४४ लाख ११ हजार अनौपचारिक क्षेत्रमा कार्यरत छन्। अनौपचारिक क्षेत्रभित्र कृषि, वन र मत्स्यपालनमा २१.५ प्रतिशत, निर्माणमा १३.८ प्रतिशत, खुद्रा व्यापारमा १७.५ प्रतिशत र यातायात क्षेत्रमा ४.५ प्रतिशत श्रमिक रहेका छन्।

कोषमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्या उल्लेख्य छ। हालसम्म १९ लाख ३४ हजारभन्दा बढी वैदेशिक रोजगारका श्रमिकले कोषमा योगदान गरेका छन्। सरकारले वैदेशिक रोजगारीमा जानुअघि सामाजिक सुरक्षामा आबद्ध हुन अनिवार्य व्यवस्था गरेको छ, तर तीमध्ये धेरैले नियमित रूपमा योगदान भने गरिरहेका छैनन्।

अहिलेसम्म कोषले करिब ९३ अर्ब रुपैयाँ योगदानकर्ताबाट संकलन गरिसकेको छ। यो रकमको ठूलो हिस्सा बैंकमा जम्मा गरी ब्याज आम्दानीको रूपमा राखिएको छ। यद्यपि, सामाजिक सुरक्षा ऐन र कार्यविधिअनुसार यो रकम उत्पादनशील तथा प्रतिफलदायी क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्