Logo

नाकाबन्दीको असर बैदेशिक रोजगारीमा, बिदेसिने क्रम ४७ प्रतिशतले घट्यो

नाकाबन्दीको असर बैदेशिक रोजगारीमा, बिदेसिने क्रम ४७ प्रतिशतले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतले लगाएको नाकाबन्दीको असर बैदेशिक रोजगारीमा पनि परेको छ । नाकाबन्दीले आवागमनमा समस्याले परेकाले बैदेशिक रोजगारीमा जाने क्रम पनि उच्च रुपमा घटेको छ ।

चालू आर्थिक वर्षको कात्तिक महिनामा नेपालबाट कुल २३ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् । तर, गत आवको सोही अवधिमा ४३ हजार २ सय जना कामदार वैदेशिक रोजगारी गएका थिए । यो संख्या गत आवको सोही अवधिको तुलनामा ४६ दशमलव ६३ प्रतिशतले कमी हो । चालू आवको ४ महिनामा १ लाख ३६ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा गएका विभाको तथ्याङ्कमा उल्लेख छ ।

नाकाबन्दीले गर्दा कतिपयले राहदानी नै बनाउन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै घटेको मदिना इन्टरनेशनल म्यानपावरकी संचालिका सुवर्ण श्रेष्ठले बताइन् । ‘पहिला ‘जिरो कष्ट’ (वैदेशिक रोजगारीमा सुन्य लागत)ले घटेको थियो,’ उनले भनिन्, ‘त्यपछि विस्तारै बढ्न थालेको थियो नाकाबन्दीले गर्दा कामदारले राहदानी नै बनाउन नपाएकाले झन बढी घटेको छ ।’

वैदेशिक रोजगार विभावको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जाने कुल कामदारमध्ये ५० प्रतिशत तराइ भेगका छन् । हाल ती कामदारहरु बन्दका कारण राहदानी बनाउन नसकेर त्यतिकै बसेका छन् । लामो समयको तराइ बन्दका कारण त्यस क्षेत्रका सरकारी कार्यलयहरु पनि बन्द छन् । जसले गर्दा वैदेशिक रोजगारीमा जाने कामदारहरु राहदानी बनाउन बाटै बञ्चित छन् । रोजगारीमा जाने कामदारले काठमाडौंमा आएर राहदानी बनाउनका लागि पनि सम्बन्धित जिल्लाको सिफारीस चाहिने व्यवस्था छ ।

यता मिडिल इष्ट म्यापावरका संचालक अब्दुल सतार भने जिरो कष्टका कारण रोजगारीमा जाने कामदारको संख्या उच्च रुपमा घटेको बताउँछन् । ‘सरकारले जिसो कष्ट लागु गरेपछि म्यानपावर कम्पनीले कामदारसँग पैसा नलिइ वैदेशिक रोजगारीमा पठाउनु पर्छ,’ उनले भने, ‘तर, सम्बन्धित देशबाट भिसा किनेर ल्याएर यहाँबाट सित्तैमा पठाउन सकिँदैन ।’

बैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मी भने पछिल्लो समय विभागले कडाइ गरेकाले पनि सो क्रम घटेको बताउँछन् । ‘हामीले बैदेशिक रोजगारीलाई सुदृढिकरण गर्नका लागि नियम कानुनलाई कडाइका साथ लागु गरेका छौं,’ उनले भने, ‘जसले गर्दा व्यवसायीले कानुन विपरित कामदार पठाउन नपाउँदा घटेको हो । पछिल्लो समय संख्यात्मक भन्दा पनि गुणात्मक खालका कामदारहरु बैदेशिक रोजगारीमा गएको समेत उनले जानकारी दिए । साथै, हाल देखिएको राजनीतिक अस्थिरता र बन्द हड्तालले गर्दा पनि रोजगारीमा जाने कामदारको संख्यामा उल्लेख्य घटेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This