Logo

अब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु

अब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु



काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने निर्णय गरेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासमार्फत सो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार अब नेपालबाट मलेसिया पठाइने कामदारको भर्ना तथा छनोट कार्य केवल निश्चित संख्या र मापदण्ड पूरा गर्ने रोजगार एजेन्सीमार्फत मात्र गरिनेछ । उक्त प्रक्रिया मलेसियाको मानव संसाधन मन्त्रालयमार्फत निष्पक्ष र योग्यता–आधारित छानबिन प्रणालीअनुसार लागू गरिने बताइएको छ ।

सो छानबिनका लागि मलेसियाले १० वटा अनिवार्य मापदण्ड तय गरेको छ, जसको विस्तृत विवरण दूतावासलाई पठाइएको संलग्न कागजातमा उल्लेख गरिएको छ ।

मलेसियाले नेपाल सरकारलाई ती मापदण्ड पूरा गर्ने स्वीकृत निजी रोजगार एजेन्सीहरूको नामावली आगामी मंसिर २९ गतेभित्र पठाउन आग्रह गरेको छ । मापदण्ड पूरा नगर्ने वा अपूर्ण विवरण पेश गर्ने आवेदनहरूमाथि विचार नगरिने स्पष्ट गरिएको छ ।

मलेसियाको परराष्ट्र मन्त्रालयले उक्त नीति कार्यान्वयनले नेपाल र मलेसियाबीचको श्रम आप्रवासन प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र नैतिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

मलेसियाले छनोट गर्ने म्यानपावरले १० वटा मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्ने जनाएको छ । जसमा इजाजतपत्र लिएको ५ वर्ष हुनुपर्ने, ५ वर्षभित्र कम्तीमा तीन हजार श्रमिक पठाएको हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, १० हजार वर्गफुटमा फैलिएको कार्यालय हुनुपर्ने, म्यानपावर कम्पनी सञ्चालकको असल चरित्रको प्रमाणपत्र भएको हुनुपर्ने, बाध्यकारी श्रम, मानव तस्करी, श्रम कानुनको उल्लङ्घन, मुद्रा अपचलन र अन्य आर्थिक अपराधमा संलग्न नभएको हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्